भारतमा एसबीआई बैंकबाट महिनामा ४ पटकभन्दा बढी पैसा निकाल्नु परे शुल्क लाग्ने



एजेन्सी । भारतीय सरकारी बैंक स्टेट बैंक अफ इन्डियाबाट बचतकर्ताहरुले अब चार पटकभन्दा बढी पैसा निकाल्नका लागि शुल्क बुझाउनुपर्ने भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार बेसिक सेभिङ बैंक डिपोजिट अकाउन्ट होल्डरले हरेक महिना आफ्नो खाताबाट ४ पटक मात्रै निःशुल्क लेनदेख गर्न सक्नेछन् ।

यी खाता भएका बचतकर्तालाई हरेक वर्ष १० वटा पाना भएको चेकबुक दिइनेछ । सोभन्दा बढी चेकबुकका लिनका लागि शुल्क बुझाउनुपर्नेछ ।

स्टेट बैंक अफ इन्डियाले यी सेवाहरु ‘एडिस्नल भ्याल्यू एडेड सर्भिसेस’को वर्गामा राखेको छ । साथै यसका लागि ग्राहकसँग १५ रुपैयाँ भारुदेखि ७५ रुपैयाँ भारुसँग शुल्क लिइनेछ ।

बचत खाता भएका निक्षेपकर्ताले गैरवित्तीय लेन–देन तथा पैसा पठाउन वा मगाउने सुविधा बैंक शाखाहरु, एटीएम, सीडीएम (क्यास डिस्पेन्सिङ मेसिन)मा निःशुल्क उपलब्ध हुनेछ ।

एसबीआईका अनुसार ग्राहकले बैंक शाखा एसबीआई वा कुनै अन्य बैंकको एटीएमबाट चार पटक मात्रै निःशुल्क नगद निकाल्न सक्नेछन् । यदि उनीहरुले पाँचौ पटक नगद निकाल्नका लागि १५ रुपैयाँ भारु बुझाउनु पर्नेछ ।

एक वित्तीय वर्षमा १० पाना भएको चेकबुक निःशुल्क उपलब्ध गराइनेछ भने सोभन्दा बढी आवश्यक भएमा थप १० पाना भएको चेकबुकका लागि ४० रुपैयाँ भारु र २६ पाना भएको चेकबुकका लागि ७५ रुपैयाँ भारु भुक्तानी गर्नुपर्ने हुन्छ ।

आकस्मिक अवस्थामा १० पाना भएको चेकबुक लिनका लागि ५० रुपैयाँ भारुमा जीएसटी समेत जोडेर लिइनेछ । तर स्टेट बैंक अफ इन्डियाका अनुसार वरिष्ठ नागरिकहरुलाई भने चेकबुकको सुविधा निःशुल्क प्राप्त हुनेछ ।


क्लिकमान्डु