
एजेन्सी । इरानले गरेको आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमताको १७ प्रतिशत हिस्सा नष्ट गरिदिएको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
यसले गर्दा वार्षिक अनुमानित २० अर्ब डलर राजस्व गुम्ने र युरोप तथा एसियाको आपूर्तिमा संकट पैदा भएको छ । कतार इनर्जीका सीईओ र ऊर्जा मामिला राज्यमन्त्रीले बिहीबार रोयटर्सलाई यो जानकारी दिएका हुन् ।
कतारका १४ वटा एलएनजी ट्रेन्समध्ये दुईवटा र दुईवटा ग्यास–टु–लिक्विड्स केन्द्रहरूमध्ये एउटा यो अभूतपूर्व आक्रमणमा क्षतिग्रस्त भएको साद अल–काबीले बताएका छन् । मर्मतका लागि प्रतिवर्ष १२.८ मिलियन टन एलएनजी उत्पादन तीनदेखि पाँच वर्षका लागि बन्द हुने उनले एक अन्तर्वार्तामा बताए ।
‘मैले सपनामा पनि सोचेको थिइनँ कि कतार र यस क्षेत्रमा यस्तो आक्रमण हुनेछ । विशेषगरी एउटा भाइ समान मुस्लिम देशबाट रमजानको महिनामा हामीमाथि यसरी हमला होला भनेर सोचकै थिइनँ,’ काबीले बताए ।
केही घण्टाअघि इजरायलले आफ्नो ग्यास पूर्वाधारमा आक्रमण गरेपछि इरानले खाडीका तेल र ग्यास केन्द्रहरूलाई लक्षित गरी शृंखलाबद्ध आक्रमण गरेको थियो ।
दुईवटा उत्पादन एकाइहरू क्षतिग्रस्त भएका कारण इटाली, बेल्जियम, दक्षिण कोरिया र चीनका लागि हुने एलएनजी आपूर्तिका दीर्घकालीन सम्झौताहरूमा सरकारी स्वामित्वको कतार इनर्जीले पाँच वर्षसम्मका लागि फोर्स मज्योर (काबु बाहिरको परिस्थिति) घोषणा गर्नुपर्ने काबीले बताए ।
‘मेरो मतलब यी दीर्घकालीन सम्झौताहरू हुन् जसमा हामीले फोर्स मज्योर घोषणा गर्नुपर्ने हुन्छ । हामीले पहिले नै घोषणा गरिसकेका थियौं तर त्यो छोटो अवधिको लागि थियो । अब यो जति समय लाग्छ, त्यति नै अवधिको लागि हुनेछ,’ उनले बताए ।
रस लफान उत्पादन केन्द्रमा पहिले भएका आक्रमणहरू पछि कतार इनर्जीले आफ्नो सम्पूर्ण एलएनजी उत्पादनमा फोर्स मज्योर घोषणा गरेको थियो जसमा बुधबार फेरि आक्रमण भयो ।
‘उत्पादन पुनः सुरु गर्नका लागि पहिले शत्रुतापूर्ण गतिविधिहरू बन्द हुन आवश्यक छ,’ उनले भने ।
अमेरिकी तेल कम्पनी एक्सनमोबिल क्षतिग्रस्त एलएनजी केन्द्रहरूमा साझेदार हो भने सेल क्षतिग्रस्त जीटीएल केन्द्रमा साझेदार हो जसलाई मर्मत गर्न एक वर्षसम्म लाग्न सक्छ ।
टेक्ससस्थित एक्सनमोबिलको एलएनजी ट्रेन एस४ मा ३४ प्रतिशत र ट्रेन एस६ मा ३० प्रतिशत हिस्सेदारी रहेको काबीले जानकारी दिए । ट्रेन एस४ मा भएको अवरोधले इटालीको एडिसन र बेल्जियमको ईडीएफटीको आपूर्तिमा असर पार्नेछ भने ट्रेन एस६ ले दक्षिण कोरियाको कोगास, चीनको ईडीएफटी र सेललाई असर गर्नेछ ।
यी आक्रमणहरूबाट भएको क्षतिको स्तरले यस क्षेत्रलाई १० देखि २० वर्ष पछाडि धकेलिदिएको उनले बताए । ‘र अवश्य पनि धेरै मानिसहरूका लागि यो एउटा सुरक्षित आश्रयस्थल थियो । तर, अहिले त्यो छवि डगमगाएको मलाई लाग्छ ।’
यसको असर एलएनजीमा मात्र सीमित छैन । कतारको कन्डन्सेट निर्यात करिब २४ प्रतिशतले घट्नेछ भने एलपी ग्यास १३ प्रतिशतले घट्नेछ । हेलियमको उत्पादन १४ प्रतिशतले र नाफ्था तथा सल्फर दुवै ६ प्रतिशतले घट्नेछन् ।
यी क्षतिहरूले भारतका रेस्टुरेन्टहरूमा प्रयोग हुने एलपी ग्यासदेखि दक्षिण कोरियाका चिप निर्माताहरूले प्रयोग गर्ने हेलियमसम्म ठूलो प्रभाव पार्नेछन् ।
क्षतिग्रस्त एकाइहरू निर्माण गर्न करिब २६ अर्ब डलर लागेको काबीले बताए । कतारको विशाल नर्थ फिल्ड विस्तार आयोजनाको काम अहिले ठप्प छ जसका कारण यो आयोजना एक वर्षभन्दा बढी समय पछि धकेलिन सक्छ ।
‘इजरायलले इरानमाथि आक्रमण गरेको हो भने त्यो इरान र इजरायल बीचको कुरा हो । यसमा हाम्रो र यो क्षेत्रको कुनै लिनुदिनु छैन,’ उनले भने, ‘त्यसैले अब म के भन्न चाहन्छु भने विश्वका सबैले, चाहे त्यो इजरायल होस्, अमेरिका होस् वा अन्य कुनै देश, सबैले तेल र ग्यास केन्द्रहरूबाट टाढै रहनुपर्छ ।’










प्रतिक्रिया