पौने ९ लाख संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी थप्दै एनआएसी एशिया बैंक
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको ८ लाख ७४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी गर्न खोजेको छ । बैंकले विभिन्न वित्तीय संस्था र बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर बिक्री गरी आम्दानी बढाउन खोजेको हो ।
बैंकले सार्वजनिक सुचना जारी गर्दैं ५ वटा बैंक तथा वित्तीय संस्थामा आफ्नो स्वामित्वमा रहेको ८ लाख ७४ हजार ९ सय ९८ कित्ता संस्थापक सेयर खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।
इच्छुक लगानीकर्ताले बैंकले तोकेको मितिमा एनआइसी एशिया क्यापिटलमार्फत् (असार १५ गते) आजको मितिदेखि ३५ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर न्यूनतम प्रतिकित्ता १२ सय रुपैयाँ बिक्री गर्ने भएको छ । साथै, नेशनल लाईफ इन्स्योरेन्सको २५ हजार ९ सय ५६ कित्ता संस्थापक सेयर न्यूनतम ४ सय १० रुपैयाँमा बिक्री गर्न भएको छ ।
यस्तै, बैंकले मेरो माइक्रो फाइनान्सको ५८ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर न्यूनतम ५ सय ३१ रुपैयाँ, आरएमडीसी लघुवित्तको ३ लाख ८४ हजार ९ सय ९५ कित्ता संस्थापक सेयर न्यूनतम ४ सय ४१ रुपैयाँमा र महुली लघुवित्तको ५५ हजार ७० कित्ता संस्थापक सेयर न्यूनतम ७ सय ३० रुपैयाँमा बिक्री गर्नको लागि बोलपत्र आह्वान गरेको छ ।
उक्त मुल्यमा संस्थापक सेयर बिक्री गरी बैंकले ६७ करोड २१ लाख ८४ हजार ६ सय ६३ रुपैयाँ आम्दानी गर्नेछ ।