अध्ययनमै सीमित भयो ५३६ मेगावाट क्षमताको ‘सुनकोशी-तेस्रो’ जलविद्युत् आयोजना



काठमाडौं । कूल ५३६ मेगावाट क्षमताको सुनकोशी-तेस्रो जलाशययुक्त जलविद्युत् विद्युत आयोजना अध्ययनमै सीमित भएको छ ।

आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी छ ।

आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाबारे इन्जिनियरिङ डिजाइनको काम पनि सकिएको विद्युत् विकास विभागले जनाएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको विभागका इन्जिनियर सुवास थपलियाले जानकारी दिए ।

उनका अनुसार गत साल कोभिड-१९ कारण पनि अध्ययनको काम प्रभावित बन्दै केही थकेलिएको हो भने हाल दोस्रो लहरको कोरोनाका कारण इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम गर्न सकिएको छैन ।

‘यी दुवै काम कोरोनाको जोखिम नरहेपछि थालिनेछ’ उनले भने ।

वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृति भइसकेको उनले बताए ।

कोभिडका कारण परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले इआइएको काम यो वर्ष पनि सरिरहेको छ ।

परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो ।

सम्पूर्ण प्रतिवेदन तयार भई आयोजना सञ्चालन गर्न ‘सम्भावना’ हुने-नहुने निक्र्यौल नभएका कारण सरकारले अध्ययनबाहेक थप बजेट विनियोजन गरेको छैन ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी-तेस्रोको टिओआर भने २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए ।

टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो व्यवस्था गर्न सकिन्छ ।

त्यसताका नै आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा संघसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड बजेट विनियोजन भएको थियो ।

दुबै आयोजना अध्ययनको काम सक्न ३३ करोड लाग्ने इन्जिनियर थपलियाले बताए ।

‘हालसम्मको विविध प्रकारको अध्ययनबाट सुनकोशी दोस्रोभन्दा पनि तेस्रोको सम्भावना देखिएको छ,’ उनले भने ।

परियोजनाअन्तर्गत बाग्मती प्रदेश अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका-१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजना सुनकोशी-३ बाट ५३६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १.१ किलोमिटर लामो र ९ मिटर ब्यास भएको सुरुङबाट लुभूघाट नजिक निर्माण गरिने विद्युत् गृहमा लगिनेछ भने लगभग ५३६ मेगावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करीब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्नेछ ।

वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची-२ बमोजिम प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय-सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्त रुपमा सार्वजनिकरुपमा अपिल गरिसकेका छन् ।

२०७५ साल चैत महिनामा काठमाडौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोशी-तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो ।

आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल संघीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ ।

सन् १९८५ मै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो ।

उसले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत आयोजनामध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (२.४ मेगावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।


क्लिकमान्डु