खोप कार्यक्रम प्रभावकारी नहुँदा भारतमा तेस्रो लहर सन्निकट, नेपाल पनि जोखिममा



एजेन्सी । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा संक्रमणको दर घटेको पाइएको छ ।

यद्यपि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ ।

यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् । उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्काे खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

भारतमा कोरोना भाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो । तर अहिले सो अवस्थामा पनि कमी आएको छ । यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ ।

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा सक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावनी दिएका छन् ।

उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठीक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ र यसले अर्काे संकटलाई निम्ता दिनसक्छ ।

यसको अर्थ भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्यो, चिकित्सकहरुले पनि कसरी आफैले र बिरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ ।

अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् ।

स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पु¥याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

सतर्कताका लागि आग्रह
यता सक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् ।

जसकाकारण यहाँका रेलमार्ग, होटल रेष्टुराँ, सपिङमलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ ।

नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ ।
सपिङमलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्काे लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ ।

सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसंख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए, ‘भारतमा कोभिड १९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।’

उनले गतहप्ता मात्र भनेका थिए, ‘तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ ।’

‘हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्काे गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ । उनले सक्रमितहरुको सङ्ख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको सङ्ख्यामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

सुस्त खोप अभियान
हुनत भारतको जनसंख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो ।

भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउछन् । साथै कोरोनाको खोप दिएपछि यसका सङ्क्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नुनपर्ने देखिएको पनि उनले बताए ।

भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा ५ करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ ।

खोपको दुवै मात्रा लिने यो सङ्ख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ ।

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकाले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।


क्लिकमान्डु