काठमाडौं । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ रुपयाँको बजेट विनियोजन गरेको छ ।
महानगर उप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गरेको बजेटमा पुँजीतगतर्फ सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ । चालु आवमा महानगरले ३ अर्ब ३७ करोडको बजेट ल्याएको थियो ।
चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार पुँजीगत ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५ करोड रुप्ैयाँ विनियोजन भएको छ । महानगरले चालुतर्फ ११.३९ प्रतिशत, पुँजीगततर्फ ८७.३८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.३३ प्रतिशतले बजेट विनियोजन भएको छ ।
पूर्वाधार विकासका लागि महानगरले कुल बजेटको करिब ५० प्रतिशत रकम विनियोजन गरेको छ । पूर्वाधार विकासको लागि २ अर्ब ४ करोड ३१ लाख रुपैयाँ विनियोजन भएको छ ।
नगरस्तरीय गौरव आयोजना १७ करोड ३८ लाख रुपैयाँ, वीरेन्द्र सभागृह निर्माण १९ करोड ५० लाख रुपैयाँ, ल्याण्डफिल साइट तथा अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा किन्न १५ करोड रुपैयाँ, विराट राजाको दरबार क्षेत्र विकास गर्न ५ करोड रुपैयाँ विनियोजन भएको छ ।
महानगरले ४ वटा फ्लाइओभर पुल बनाउन २ करोड ४५ लाख रुपैयाँ, प्रधानमन्त्री पार्क निर्माणका लागि ५ करोड रुपैयाँ र सन्ध्याकालीन आरतीस्थलका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ, प्रदेशबाट ४ करोड ९० लाख १५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड रुपैयाँ, आन्तरिक आयबाट ८३ करोड ९ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण सहित बजेट सार्वजनिक गरेको छ ।
प्रतिक्रिया