सर्वसाधारणलाई शाैचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५०% छुट दिने कामनपाको निर्णय



काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि राजस्वमा छुट दिने, करका दर यथावत राखेर दायरा बढाउने प्रस्ताव नगरसभामा पेश गरेको छ ।

बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक, २०७८’ मा कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी आव ०७६/७७ देखिका सबै प्रकारका कर वक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव गरिएको छ ।

विधेयक प्रस्तुत गर्दै प्रमुख शाक्यले भने, ‘हामी निर्वाचित भएर आएदेखि कुनै पनि वर्ष करको दर बढाएका छैनौं । यसवर्ष पनि बढाउँदैनौ । हामी दर होइन, दायरा बढाउनु पर्छ भन्ने नीतिमा छौं ।’
विधेयकमा विगत वर्षमा भएका करका शीर्षकमा केही शीर्षक थपिएका छन् । विगतबाट लिइँदै आएको करको दरमा वृद्धि गरिएको छैन ।

सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट
आर्थिक विधेयकमा राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी नियमित सञ्चालन गर्ने, कोभिड-१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी आर्थिक वर्ष ०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने, सबै करदाताका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट दिनेलगायत प्रस्ताव छन् ।

बहाल करमा १० प्रतिशत वा २५ हजार रुपैंयाँमध्ये जुन कम हुन्छ उक्त बराबर छुट, कोभिड-१९ को प्रभावले परेको असरलाई मध्यनजर गरी घरधनीले बुझाउनु पर्ने बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैंयाँमध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिने प्रस्ताव छ ।

यस प्रावधानबमोजिमको बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घरधनी र बहालमा लिने प्राकृतिक वा कानूनी व्यक्तिका बीच भएको बहाल सम्झौता अनिवार्य पेश गर्नु पर्नेछ ।

व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट दिने प्रस्ताव समेत गरिएको छ ।

व्यवसायीले आफ्नो प्रयोजनका लागि सञ्चालन गरेको शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ ।

महानगर क्षेत्रभित्र मानिसहरुको बढी भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालयको अभावका कारण सर्वसाधारणलाई परेको समस्या समाधान गर्न यस प्रकारको छुट व्यवस्था प्रस्ताव गरिएको हो । यसरी सेवा दिने होटल, रेष्टुराँ पसल जस्ता व्यवसायहरुले महानगरपालिकासँग सहकार्य गर्नुपर्नेछ ।

कुन-कुन करमा कति-कति छुट ?
महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ देखि कर वक्यौतामा लाग्ने जरिवाना सबै छुट गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ । बहाल करमा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सो रकम छुटको प्रस्ताव छ । ब्युटीपार्लर र सैलुन व्यवसायमा व्यवसाय कर नलिने भएको छ ।


क्लिकमान्डु