६६ जना नगर सदस्यले बहिस्कार गरेपछि रोकियो ललितपुर महानगरपालिको बजेट



काठमाडौं । बिहीबार नगरसभा बैठकमा पेश हुने कार्यतालिका तोकिएको ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट रोकिएको छ ।

आज बोलाइएको नगरसभा बैठकलाई ४९ जना कार्यपालिका सदस्यमध्ये २६ जना र ९२ जना नगर सदस्यमध्ये ६६ जनाले बहिस्कार गरेपछि बजेट रोकिएको हो ।

वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने मेयर र बजेट पेश गर्ने उपमेयर नै अल्पमतमा परेपछि नगरसभा बैठक शनीबारका लागि सारिएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित बाहेक सबै जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेका हुन् । ललितपुर महानगरपालिकामा १४ वटा वडामा नेकपा एमाले, १० वटामा नेपाली कांग्रेस, ४ वटामा नेकपा (माओवादी केन्द्र) र एउटा वडामा स्वतन्त्र उम्मेदरवारले जितेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिधिहरुको बहुमत नपुग्ने भएपछि बजेट रोकिएको हो ।

स्थानीय शासन संचालन ऐन २०७४ ले नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित भएपछि मात्र नगरसभामा पेश गर्नुपर्ने व्यवस्था रहेकोमा पारित नगरीकनै पेश गर्न लागेपछि बहिस्कार गरेको उनीहरुले विज्ञप्तीमार्फत जनाएका छन् ।

‘नीति तथा कार्यक्रम कार्यपालिकाका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भन्दाभन्दै त्यही दिन पास गर्नुपर्ने नगर प्रमुखले बल मिच्याई गरी कार्यपालिकामा अध्ययनकै क्रममा रहेको नीति तथा कार्यक्रम आज डाकिएको नगर सभामा उपप्रमुखले पेश गर्न गईरहेको सन्दर्भमा हामी कार्यपालिका सदस्यको गम्भीर ध्यानाकर्षण भएको छ ।’ नगरसभा बहिस्कार गरेका सदस्यहरुका तर्फबाट श्रीगोपाल महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।


क्लिकमान्डु