साढे ५ अर्ब बढीको आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ? (सूचीसहित)



काठमाडौं । सेयर बजारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) आउने तयारीमा छ ।

१८ वटा कम्पनीको ५ करोड ७१ लाख ५० हजार ३ सय ३४ कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिका लागि पाइपलाइनमा छन् ।

आइपीओ स्वीकृतिको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरु १३ वटा हाइड्रो पावर कम्पनी, २ वटा लाइफ इन्स्योरेन्स, २ वटा माइक्रोफाइनान्स र १ वटा अन्य कम्पनी छन् ।

पाइपलाइनमा रहेका कम्पनीहरुको आइपीओ आवेदनमा बोर्डले ८ वटाको अन्डर प्रिलिमेनअरी रिभ्यु गरेको छ । साथै, २ वटा कम्पनीको रिभ्यू एण्ड कमेन्ट पठाएको छ भने ८ वटा कम्पनीको आइपीओ आवेदनमा रिप्लाइ एण्ड रिभ्यु गरिसकेको छ । केही कम्पनीहरुले करिब ४ वर्षदेखि आइपीओको आवेदन दिएर पाइपलाइनमा बस्दा समेत निष्कासनको अनुमति पाएको छैनन् ।

बोर्डले माग गरेको कागजात समयमै पेश नगर्दा आइपीओ निष्काशनका लागि स्वीकृतमा ढिलाइ भएको बोर्डका सह–प्रवक्ता रुपेश केशीले बताए ।

‘केही कम्पनीहरु लामो समयदेखि आइपीओ निष्काशन गर्न स्वीकृतिको पर्खाइमा छन् तर ती कम्पनीहरु स्वयमले माग गरिएको आवश्यक कागजात पेश नगर्दा ढिलाइ भएको हो,’ उनले क्लिमाण्डूसँग भने, ‘बोर्डले परेको आवेदनमा समयमै अध्ययन गरी आवश्यक पर्ने कागजात माग गर्छ, र कम्पनीले पठाएको कागजातमा पुनः अध्ययन गरेर मात्र आवेदन स्वीकृत गर्छ ।’

आइपीओको आवेदन दिएर कम्पनीहरुले बोर्ड माग गरेको कागजात पेश गर्न ६ महिनाभन्दा बढी समय लगाएमा पाइपलाइनबाट आइपीओको आवेदन हटाइने उनले जानकारी दिए । कुनै पनि कम्पनीको ६ महिनामा अर्धवार्षिक वित्तीय विवरण समेत परिवर्तन हुने हुँदा बोर्डको कमेन्टमा ६ महिनासम्म पनि रिप्लाइ नगरेमा सो आवेदनलाई स्वतः बोर्डले पाइपलाइनबाट हटाउने व्यवस्था गरेको हो ।

कुन कम्पनीको कति कित्ता आइपीओ ?
माइलुङ्ग खोला जलविद्युत् कम्पनी २०७४ असोज २० गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ करोड ३६ लाख २८६ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, हिमालयन हाइड्रो पावर कम्पनीले २०७६ काक्तिक २७ गते बोर्डमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता, बिन्दवासिनी हाइड्रोपावर कम्पनीले ०७६ माघ १ गते २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ र डिसहोम मिडिया प्रालिले ०७७ असार ३० गते २३ करोड ८५ लाख ९ सय २९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

न्यादी हाइड्रो पावर कम्पनीले ०७७ मंसिर १० गते ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ, साहास उर्जा कम्पनीले गत मंसिर २४ गते १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ र साम्लिङ्ग पावर कम्वनीले गत माघ ५ गते १२ करोड ३० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएर बसेका छन् ।

बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीले गत माग ८ गते १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ र सयपत्री हाइड्रो पावर कम्पनीले गत गत फागनु २० गते ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्ड आवेदन दिएर बसेका छन् ।

साथै, फागुन महिनामै आइपीओको आवेदन दिनेमा बलेफी हाइड्रो पावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रीन भेञ्चर हाइड्रो पावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख २५ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका हुन् ।

अपर शोलु हाइड्रो पावर कम्पनीले गत चैत १६ गते बोर्डमा ३३ करोड ३० लाख ७५ हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएको थियो ।

यस्तै, मनुषी लघुवित्तले गत बैशाख १३ गते ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ, दोर्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता आइपीओ र अपरहेवा खोला हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका थिए ।

साथै, युनियन लाइफ इन्स्योरेन्सले जेठ ९ गते ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ र सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएर छन् ।


क्लिकमान्डु