चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य असार मसान्तसम्ममा सकिने, जाँचपासमा सहज



काठमाडौं । सरकारले अत्याधुनिक सुख्खा बन्दरगाहको रुपमा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहको सम्पूर्ण निर्माण कार्य यही असार मसान्तसम्ममा सकाउने भएको छ ।

सरकारले हिमाल सिमेन्टको अलपत्र परेको जग्गालाई उपयोग गर्ने उद्देश्यका साथ २०७५ साल माघ ३ गते शिलन्यास गरिएको उक्त बन्दरगाहको निर्माण कार्य असार मसान्तसम्ममा सक्ने भएको हो ।

उक्त अत्याधुनिक बन्दरगाह निर्माणका लागि १ अर्ब ६७ करोड रुपैयाँ ठेक्का सम्झौता गरिएको थियो । जसमा बन्दरगाह निर्माणका लागि विश्व बैंकले सहयोग दिएको थियो ।

निर्माणको जिम्मा आशीष र साक्षी जोइन्ट भेञ्चरले पाएकोमा आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी थियो भने साक्षी चिनियाँ कम्पनी रहेको थियो ।

बन्दरगाहको कुल लागत दुई अर्ब १८ करोड ७२ लाख रुपैयाँ अनुमान गरिएको बन्दरगाहको हाल ७० प्रतिशत कुल खर्च भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको थियो । साथै, उक्त बन्दरगाह १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने जनाएको थियो । तर, विभिन्न समस्याका कारण सो समयमा बन्दरगाह निर्माण हुन नसकेको समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले जानकारी दिए ।

उनका अनुसार निर्माण शुरु हुन लाग्दा स्थानीयको विरोध, कोरोनाले गर्दा काम गर्न नपाएकाले तोकेको समय अवधिमै सम्पन्न गर्न नसकेको स्वीकार्छन ।

स्थानीयहरुले हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने, कर्मचारीले पाउनुपर्ने पारिश्रक पाउनु पर्नेलगायत माग गरेर अवरोध गरेका थिए ।

विभिन्न अवरोध तथा महामारीका बाबजुद समितिले चालु आर्थिक वर्षमा सम्पूर्ण कार्य सम्पन्न गर्ने भएको गजुरेलको भनाइ छ । साथै, चालु आवमा सम्पूर्ण कार्य सम्पन्न गरी सञ्चालनको तयारी गर्ने उनले बताए ।

‘बन्दरगाहको मुख्य संरचनाहरू बनिसकेको अवस्था छ । जसमा योजना बनाएअनुसार एउटा गोदम बन्न बाँकी छ । अन्य संरचनाहरू सम्पूर्ण बनिसकेको अवस्था छ,’ उनले भने । गजुरेलका अनुसार हाल दुई वटा गोदाम, सामान चेकजाँचको लागि भवन, प्रशासनिक तथा भन्सार भवन, क्वारेन्टिन भवन, पार्किङ, कन्टेनर यार्डलगायत अन्य मुख्य संरचना कार्यहरू भइरहेको बताए ।

निर्माण कार्य सम्पन्न हुन लागेको उक्त बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय सवारी साधन तथा ट्रक अटाउने क्षमताको निर्माणधिन बन्दरगाह करिव २ सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।

काठमाडौं ल्याउने मालबाहक गाडीको जाँचपासमा सहज
अहिले सम्पूर्ण काठमाडौं ल्याउने सम्पूर्ण मालबाहक गाडीहरूको जाँचपास विभिन्न भन्सार कार्यालयबाट हुँदै आएको छ । जसमा वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानीमा भन्सारसम्बन्धि सम्पूर्ण कार्य सकाएर आउनुपर्ने व्यवस्था छ ।

तर, अत्याधुनिक चोभार बन्दरगाह सञ्चालनमा आएका काठमाडौंको लागि भित्रिएका मालबाहक गाडीहरू सिधै काठमाडौंमा गएर जाँचपास गर्न सक्नेछन् ।

आशीष गजुरेल

चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने माल वस्तुहरु सिधै चोभारमा आउनेछन् । सम्बन्धित भन्सार नाकाले लकिङ हेरेर पठाउनेछ । सम्पूर्ण चेकजाँच चोभारमा बन्ने बन्दरगाहमा हुनेछ ।

‘अहिले कुनै पनि मालबाहक गाडी आउँदा विभिन्न भन्सार कार्यालयमा जाँचपासको कार्य सकाएर मात्रै उपत्यका प्रवेश गर्ने व्यवस्था छ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनम काठमाडौंमा प्रवेश गर्ने मालवाहक गाडीले सिधै काठमाडौं गएर भन्सारको कार्य पूरा गर्न सक्ने भएकाले सहज हुनेछ ।’

यसले गर्दा विभिन्न नाकामा कुरेर बस्नुपर्ने बाध्यता घट्ने उनको दाबी छ ।

सरकारले निर्माण कार्यसँगै सञ्चालनमा ल्याउनको लागि अपरेशन मोडालिटीको पनि गृहकार्य गरिरहेको बताए ।

यसले गर्दा आगामी ३ महिनाभित्रमा सञ्चालन आउन सक्ने उनले जिकिर गरे । यस्तै, विभिन्न समस्याको बाबजुद पनि समितिले स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिएकाले असार मसान्तसम्ममा कार्य सम्पन्न गर्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।


क्लिकमान्डु