समयमै कागजात पेश नभएपछि नोट छपाइका लागि परेको आवेदन रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छपाइको लागि आह्वान गरेको बोलपत्रमा परेको आवेदन रद्द गरेको छ ।

गत चैतमा गरेको नोट छपाइ आह्वानमा परेको सबै आवेदनलाई राष्ट्र बैंकले रद्द गरेको हो ।

राष्ट्र बैंकले सबै प्रकारको नोट छपाइ आपूर्ति र वितरणका लागि गत चैत २० गते ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो ।

जसमा १० वटा कम्पनीले आवेदन दिएका थिए । तर आवेदकहरुले राष्ट्र बैंकले माग गरेको आवश्यक कागजात पेश नगर्दा सो बोलपत्र आह्वान रद्द गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए ।

‘नोट छपाइको लागि गरिएको बोलपत्र आह्वानमा आवेदन दिने आवेदक कम्पनीले माग गरिएको कागजात पूरा पेश गरेनन्,’ उनले क्लिमाण्डूसँग भने, ‘छपाइका लागि अमेरिका, चीन, भारत, फ्रान्स लगायत १० वटा अन्तराष्ट्रिय कम्पनीहरुले पेश गरेका थिए, समयमै आवश्यक कागजात पेश नभएकै कारणले गर्दा रद्द गरिएको हो ।’

उक्त बोलपत्रमा पेश भएका आवेदन रद्द भएपनि पुनः केही समयपछि बोलपत्र आह्वान गरिने उनले बताए । हाल केन्द्रीय बैंकसँग आवश्यक नोट स्टकमा रहेको हुँदा तत्काललाई आपूर्तीमा समस्या नहुने उनले जानकारी दिए ।

‘अबको १/२ हप्तापछि नै पुनः सबै दरका नोट छपाइको लागि बोलपत्र आह्वान हुन्छ,’ उनले भने, ‘तोकिएको दरका नोट छपाइको लागि राष्ट्र बैंकले अग्रीम रुपमा कम्पनीहरु छनौट गर्न बोलपत्र आह्वान गर्छ, सोही प्रकारको आवेदन रद्द भएको हो ।’

हाल राष्ट्र बैंकमा २ खर्ब रुपैयाँ नोट स्टकमा छ भने ६ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ बराबरको नोट चलनचल्तीमा छ ।


क्लिकमान्डु