निषेधाज्ञाले घरजग्गा कारोबारमा लाग्यो ब्रेक, जेठमा साढे २ करोेड बढी राजश्व संकलन



काठमाडौं । विगतको दिनमा उच्च विन्दुमा कारोबार भई रेकर्ड कायम गर्दै आएको घरजग्गा किनबेचमा ब्रेक लागेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लागू गरेको निषेधाज्ञाले गर्दा घरजग्गा किनबेचमा ब्रेक लागेको हो ।

पछिल्लो समय कोरोना भाइरस महामारीका अधिकांश व्यापार व्यवसाय बन्द हुँदा विगतको दिनमा घरजग्गामा लगानी गर्ने व्यक्तिको संख्या बढेको व्यवसायीहरू बताउँछन् । त्यसैगरी भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले कोरोनाले गर्दा घरजग्गामा लगानी गर्नेको संख्या बढेको देखिएको थियो ।

बैशाखको दोस्रोसातादेखि जिल्लाहरुमा निषेधाज्ञा जारी भएको थियो ।  निषेधाज्ञा लागू भएसँगै देशभरका भूमि व्यवस्था तथा मालपोत कार्यालयले हालसम्म पनि सेवा प्रदान गर्न सकेको छैन । तर, आन्तरिक कार्य भने निरन्तर भएरहेको विभागले जनाएको छ ।

त्यस्तै, गत निषेधाज्ञाले गर्दा वैशाखमा पनि घरजग्गाको किनबेचमा कमी आएकोमा जेठमा भने संक्रमण नभएको जिल्लामा सञ्चालनमा रहेको मालपोत कार्यालयबाट सेवा प्रवाह गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभाग अनुसार निषेधाज्ञाको समयमा कोरोना कम जोखिम भएका विभिन्न जिल्लाका मालपोत कार्यालयबाट १४ सय ९५ वटा सेवा प्रवाह भएको छ । जसमा जेठ मसान्तसम्ममा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी १४ सय ९५ वटाको सेवाको प्रभाव भएको विभागले जनाएको छ ।

जसमा जेठ महिनामा २ सय ८९ लिखित पारित, ५ वटा नामसारी, ६ वटा संशोधन, ८ सय ८८ घरजग्गाको रोक्का, १ सय २१ फुकुवा, ३९ वटा दाखिला खारेज गरेको छ । साथै, १३ वटा प्रतिलिपि प्रक्रिया, २ वटा गुठी अधीनस्थ जग्गाको लिखत पारित र २ को गैर घर/जग्गा सम्बन्धी लिखत पारित भएको छ ।
त्यस्तै देशभरका विभिन्न जिल्लामा लागू भएको निषेधाज्ञाले गर्दा मालपोत कार्यालयबाट प्रदान गर्ने सेवा पूर्ण रुपमा बन्द भएपनि जेठ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय कलैया बाराले ३ सय ८७ सेवा प्रवाह गरेको छ । जसमा ३ सय ७५ घरजग्गाको मात्रै रोक्का गरेकोमा फुकुवा भने गरेको छैन । साथै, सो मालपोत कार्यालयबाट ८ वटा घरजग्गाको लिखत पारित भएको छ ।

त्यस्तै मालपोत कार्यालय सिराहा निषेधाज्ञाको समयमा २ सय २३ सेवा प्रवाह गरेको छ । उक्त मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गाको किनबेच भएको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । सो मालपोत कार्यालयबाट १ सय २५ वटा घरजग्गाको किनबेच भएको छ । साथै, ८१ वटा घरजग्गाको रोक्का, ९ वटाको फुकुवा र ५ वटाको दाखिल खारेज गरेको छ ।

मालपोत कार्यालयबाट जनकपुरधाम धनुषाबाट १ सय ६७ सेवा प्रवाह हुँदा ८४ घरजग्गाको किनबेच भएको छ । त्यसैगरी, मालपोत कार्यलय सिमारा बाराबाट १ सय ४७ सेवा प्रवाह हुँदा ७ घरजग्गाको लिखत पारित भएको छ घने १ सय १७ घरजग्गाको रोक्का गरेको छ । नुवाकोट मालपोत कार्यालयले १ सय ४३ सेवा प्रवाह गर्दा २४ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै, मालपोत कार्यालय सिन्धुली, जुम्ला, सिन्धुपाल्चोक, नेपालगञ्ज कार्यालयबाट¬ केही मात्रामा सेवा प्रवाह भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

साढे २ करोड बढी राजश्व संकलन

निषेधाज्ञाले गर्दा देशभरका अधिकांश मालपोत कार्यालय बन्द भएको अवस्थाका केही स्थानमा सञ्चालन रहेको मालपोत कार्यालयबाट जेठ महिनामा २ करोड ७२ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा सेवा करबापत ६० लाख ९३ हजार, राजिष्ट्रेशन दस्तुबापत ९८ लाख ३७ हजार, छुटबापत २७ लाख ७७ हजार, पूँजी लाभकरबापत ७५ लाख ४० हजार, नगर पूर्वाधार विकास कोष शुल्कबापत १३ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत ९ लाख १२ हजार रुपैयाँ रहेको छ ।

मालपोतका कार्यालय बाराबाट अधिकतम घरजग्गाको सेवा प्रवाह भए पनि सबैभन्दा बढी राजशव मालपोत कार्यालय धनुषाले संकलन संकलन गरेको छ । उक्त कार्यालयबा ५२ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जसमा सेवाकरवापत ९ लाख ८९ हजार, रजिष्ट्रेशन दस्तुबापत २६ लाख २३ हजार, पूँजीगत लाभकरबापत १८ लाख ७५ हजार र मुख्यमन्त्री स्वच्छता अभियानबापत ३ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यसैगरी जेठ महिनामा सिराहा मालपोत कार्यालयले ३९ लाख ३६ हजार, बाराले ३९ लाख ३१ हजार, दैलेखले १७ लाख ८९ हजार, नुवाकोटले १५ लाख ४३ हजार, सिन्धुलीले १२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साथै, अन्य मालपोत कार्यालयमा बाग्लुङ, सिमारा बारा, सिन्धुपाल्चोक मालपोत कार्यालयले ३ लाखदेखि ८ लाख रुपैयाँसम्म राजश्व संकलन गरको विभागको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु