कर्णाली प्रदेशमा सवारी दर्ता शुल्क बढ्यो, कस्ता सवारीको ब्लुबुक नविकरण गर्न कति लाग्छ ?



काठमाडौं । कर्णाली प्रदेशले आर्थिक ऐनमार्फत् वार्षिक सवारी कर निर्धारण गरेको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७८÷७९ मा सवारी करको शुल्कमा धेरै हेरफेर गरेको छैन ।

प्रदेश सरकारले निजी मोटरसाइकल, कार, जिप, भ्यान र माइक्रो बसको कर सीसीको आधारमा निर्धारण गरेको छ ।

कार, जिप, भ्यान र माइक्रो बस १००० सीसीसम्म १९ हजार रुपैयाँ, १००१ देखि १५०० सीसीसम्म २१ हजार, १५०१ देखि २००० सीसीसम्म २३ हजार रुपैयाँ, २००१ देखि २५०० सीसीसम्म ३२ हजार रुपैयाँ, २५०१ देखि २९०० सीसीसम्म ३७ हजार रुपैयाँ र २०८१ सीसीदेखि माथिका सबै कार, जिप, भ्यान र माइक्रो बसमा वार्षिक ५३ हजार रुपैयाँ कर लाग्ने छ ।

मोटरसाइकल १२५ सीसीसम्म २५ सय रुपैयाँ, १२६ देखि २५० सीसीसम्म ४ हजार रुपैयाँ, २५१ देखि ४०० सय सीसीसम्म ८ हजार रुपैयाँ र ४०१ सीसी र सो भन्दा माथिले १५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ ।

डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर क्रेनजस्ता मेशिनरी उपकरणले ३५ हजार रुपैयाँ र मिनीटिपरले २५ हजार वार्षिक कर बुझाउनुपर्छ ।

थ्री ह्विलर र टेम्पो ५ हजार रुपैयाँ, ट्रेक्टर ४ हजार रुपैयाँ, पावर टिलर ३ हजार, मिनिट्रक/मिनिबस २२ हजार र ट्रक/बसले वार्षिक ३० हजार रुपैयाँ बुझाउनुपर्छ ।

भाडाका सवारी

भाडामा दर्ता भएका सवारीसाधनको कर पनि सीसीको आधारमा निर्धारण गरिएको छ । कार, जिप, भ्यान र माइक्रो बस १३०० सीसीसम्म ८ हजार रुपैयाँ, १३०१ देखि २००० सीसीसम्म ९ हजार रुपैयाँ, २००१ देखि २९०० सीसीसम्म ११ हजार रुपैयाँ, २९०१ देखि ४००० सीसीसम्म् १३ हजार रुपैयाँ र ४००१ सीसी र सोभन्दा माथि सबैको १५ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ ।

डोजर, एक्साभेटर, लोडर, रोलर ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरणको १७ हजार रुपैयाँ कर तोकिएको छ । थ्री ह्वीलर र टेम्पो ४ हजार, ट्याक्टर २५ सय, पावर टिलर २ हजार, मिनीट्र,मिनीबस १२ हजार रुपैयाँ र मिनी ट्रिपर १४ हजार रुपैयाँ र ट्रक, बस १६ हजार रुपैयाँ कर तोकिएको छ ।

सवारी साधन दर्ता शुल्क

कर्णाली सरकारले सवारी साधन दर्ता शुल्क भने एक हजार रुपैयाँसम्म बढाएको छ । बस, ट्रकको दर्ता शुल्कलाई २५ सय रुपैयाँबाट बढाएर ३५ सय रुपैयाँ पुर्याइएको छ । मिनि ट्रक, मिनि बस, ट्याक्टर २ हजारबाट २५ सय पुर्याइएको छ ।

कार, जिप, भ्यान, पिकअप, टेम्पो १५ सयबाट २५ सय रुपैयाँ पुर्याइएको छ । अटो टेम्पो एक हजारबाट १५ सय पुर्याइएको छ । मोटरसाइकल, स्कुटर र सरकारी मोटरसाइकलको दर्ता शुल्क बढाइएको छैन । मोटरसाइकल र स्कुटरको दर्ता शुल्क ५ सय रुपैयाँ र सरकारी मोटरसाइकलको दर्ता शुल्क ८ सय रुपैयाँ छ ।

ब्लुबुक नविकरण शुल्क

कर्णाली प्रदेशमा सवारीको प्रकार अनुसार ाब्लुबुक नविकरण शुल्क छुट्टाछुटै रहेको छ । भाडा बस, ठूला टिप्पर एक हजार रुपैयाँ, भाडा मिनिबस, टिप्पर, ट्याक्टर, सरकारी/भाडा जिप (वर्ग-ज/झ) नविकरण शुल्क ८ सय रुपैयाँ छ ।

निजी बस, ठुला टिप्पर, टिप्पर, एम्बुलेन्स, निजीगाडी (जिप) (वर्गा-क/च), निजी मेशिनरी औजार (डोजर, रोलर, एक्साभेटर, भाडा टेम्पो, निजी टेम्पोको निवकरण शुल्क ५ सय रुपैयाँ निर्धारण गरिएको छ । पावरटेलर ३ सय र मोटरसाइकल तथा स्कुटरको नविकरण शुल्क २ सय रुपैयाँ तोकिएको छ ।


पुष्प दुलाल