होटल संघले श्रममनत्रीलाई भन्यो- श्रमिकको तलब वृद्धि नगरियोस्



काठमाडौं । होटल संघ नेपालले श्रमिकको तलब वृद्धि नगर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सिर्जना राणा र प्रथम उपाध्यक्ष विनायक शाहले बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तवसँग भेट गरी होटल उद्योगको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो समयमा तलबमान वृद्धि नगर्न विभिन्न वैठकहरुमा सुझाव राखी सहमत भए तापनि तलबमान वृद्धिमा होटल उद्योग पनि राखिएको बताएका छन् ।

तलब वृद्धिको एउटै समूहमा राखिएको हुँदा नेपाल राजपत्रमा प्रकाशित श्रमिकको नयाँ तलबमान होटल क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नभएकोले लागू नगर्न संघले माग गरेको छ ।

संघले तोकिएको तलबमान समेत भुक्तान गर्न नसकिएको यस समयमा होटल संघ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भएअनुसार हस्ताक्षरकर्ता ट्रेड युनियनहरुबीच समेत छलफल भई मान्य भइसकेको जनाएको छ ।

सो अवसरमा अध्यक्ष राणाले कोभिड–१९ को कारण नराम्रोसँग थला परेको पर्यटन विशेष गरी होटल उद्योग यो अवस्थामा निर्धारण गरेको कानून तथा नीति नियमअनुसार सञ्चालन गर्न नसकिने जनाएको छ ।

यस्तै, नीति, नियम तथा कानूनमा जे जस्तो व्यवस्था रहेता पनि संक्रमणकालीन व्यवस्था अनुरुप होटल उद्योगलाई बचाई राख्न आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भए तापनि वर्तमान अवस्थालाई ध्यानमा राखी अति प्रभावित होटल उद्योगलाई थप सहयोग र अन्य सुविधा उपलब्ध गराई सामाजिक सुरक्षा कोषप्रति आकर्षण अभिवृद्धि गर्न फरक नीति अवलम्बन गर्न संघले आग्रह गरेको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध होटल उद्योगका श्रमिकको निरन्तर योगदान हुन नसकेको यो अवस्थामा यस क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखी संक्रमणकालिन अवस्था र विषम परिस्थितिलाई आधार मानी आवश्यक संशोधनमार्फत नीतिगत सहयोग र सहजिकरणको लागि अनुरोध गरेको छ ।


पुष्प दुलाल