विश्लेषण: किन लगातार बढिरहेको छ सेयर बजार ? र, अब कहिलेदेखि घट्छ ? यस्ता छन् कारण



काठमाडौं । सेयर बजारमा थपिँदै गएका लगानीकर्ताको मनोविज्ञान सेयर बजार जहिले पनि बुल हुन्छ भन्नेमा छ । अहिले बजारमा नयाँ थपिएका लगानीकर्ताले विगतको बियरिस ट्रेण्ड नभोगेका हुन सक्छन् । जसकारण लगानीकर्ताले नाफा मात्रै देखेको हुँदा अहिले सेयर बजारमा जस्तो सुकै कम्पनीको सेयर मूल्य बढेको छ । लगानीकर्तालाई कुन कम्पनीको विगतमा कस्तो लाभांश दिएको थियो भन्ने हेरेका छैनन् ।

उदाहरण नेशनल हाइड्रो पावर कम्पनीबाट शुरु गरौं । नेप्सेमा सूचिकृत पुरानो कम्पनी भएपनि नेशनल हाइड्रो पावरले अहिलेसम्म लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । नेशनल हाइड्रोको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ छ । चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार नेशनल हाइड्रो पावर कम्पनीको रिजर्व ३३ करोड २९ लाख रुपैयाँले ऋणात्मक छ भने कम्पनी ६६ लाख रुपैयाँले नोक्सानीमा छ ।

सेयर बजारमा सूचिकृत कम्पनीहरुमध्ये पछिल्लो दशकमा नेशनल हाइड्रो धेरैलाई लखपतिलाई करोडपति र करोडपतिलाई लखपति बनाउन सफल भएको एउटा कम्पनीमा पर्छ । २०६५ सालको सेयर बजार बुल हुँदा र २०७३ सालमा बुल हुँदा पनि नेशनल हाइड्रोको सेयर मूल्य बढेको थियो । तर, बुलपछि भएको बियरिस ट्रेण्डमा भने लगानीकर्ताले ठूलो रकम नेशनल हाइड्रो पावरबाट गुमाएका थिए ।

लगानीकर्तालाई केही पनि नदिएको र रिजर्ब नै ३३ करोडले ऋणात्मक भएको कम्पनीले लगानीकर्तालाई केही दिन सक्दैन । तर, बुलिस ट्रेण्डमा लगानीकर्ताले त्यो हेर्दैनन् । जसले गर्दा केही लगानीकर्तालाई फाइदा हुन्छ केहीलाई घाटा ।

पछिल्लो साता सेयर बजारमा चर्चित फाइनान्स हो गोर्खाज फाइनान्स । चैतमा प्रकाशित वित्तीय विवरणबाट आफ्नो रिजर्बलाई घाटाबाट नाफामा लगेको गोर्खाज फाइनान्सको सेयर मूल्यले नबिल बैंकलाई समेत जित्यो ।

गोर्खाज फाइनान्सको विवरणमा हेर्दा प्रतिसेयर आम्दानी, चैतसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफाको रकम हेर्दा निकै नै राम्रो देखिन्छ । तर, फाइनान्सको रिर्टन अर्निङ २ करोड रुपैयाँले मात्र चैतबाट नाफामा गएको छ ।

८६ करोड ७९ लाख रुपैयाँको चुक्ता पूँजी रहेको गोर्खा फाइनान्सको सेयर मूल्य एउटा ग्रुपले कर्नरिङ गरेर १४ सय रुपैयाँको नजिक पुर्याएको छ ।

सेयर बजारमा पछिल्लो समय लगानीकर्ताको संख्या निकै नै बढेको छ । हरेक पटक सेयर बजार बुलिस ट्रेण्डमा गएको बेला नयाँ लगानीकर्ता थपिने गर्छन् । २०६५ साल होस् या २०७३ सालमा आएको बुल ।

त्यो बेलापनि नयाँ लगानीकर्ता थपिएका थिए । त्यो बेला बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी बढाउने नीतिको कारणको मार्केट बुलिस ट्रेण्डमा गयो । यो पटक चुक्ता पूँजी बढाउने घोषणा नभएपनि जलविद्युत् तथा अन्य कम्पनीले बजारलाई नयाँ उचाइमा पुर्याएको छ ।

किन आयो बुलिस ट्रेण्ड ?

अहिले सेयर बजारमा बुलिस ट्रेण्ड आउने विभिन्न कारण छन् । जसमा प्रमुख कारण बैंकको ब्याजदर र सेयर बजारमा थपिएका नयाँ लगानीकर्ता हुन् । पछिल्लो वर्षमा सार्वजनिक निष्कासनमा भएको लगानीकर्ताको आकर्षणले त्यसलाई पुष्टी गर्छ । २०७७ असार मसान्तसम्म डिम्याट खोल्नेको संख्या १७ लाख ५३ हजार रहेकोमा अहिले यो ३५ लाख नाघेको छ । दोस्रो बजारमा कारोबार गर्नको लागि टिएमएस लिनेको संख्या गतवर्षसम्म ३५ हजार रहेकोमा अहिले त्यो संख्या ७ लाख नाघेको छ ।

बैंकमा राख्दा आउने कम ब्याज तथा घरमै बसेर सेयर किन्न सकिने व्यवस्थाले सेयर बजारको रकम तथा उचाइलाई बढाउन मद्दत गरेको छ । जसले गर्दा सेयर बजारको कुल बजार पूँजीकरण जिडिपी आकारभन्दा बढी ४२ खर्ब रुपैयाँ पुगेको छ ।

यसबाहेक कोरोना भाइरसको कारण अहिले लगानीको नयाँ अप्सन छैन । राष्ट्र बैंकको निर्णय तथा सर्बोच्च अदालतको निर्णयले बैंकको किस्ता र कर नतिर्दापनि जरिवाना लाग्दैन । जसले गर्दा सक्ने व्यक्तिले पनि बैंकको किस्ता र सरकारलाई राजस्व बुझाएका छैनन् । जरिवाना नलाग्ने भएपछि पैसाको महत्व बुझेका व्यवसायीले लगानीको सिमितता भएपछि गर्ने भनेको सेयरमा नै हो ।

आर्थिक क्रियाकलाप सिथिल भएपनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको, नयाँ लगानीकर्ताको थपिएको तथा लगानीको अवसर नभएको हुँदा सेयरमा लगानी बढेको हो ।

र, अर्को कुरा गत बर्ष कर्जा पाउने मूल्यांकनको ७० प्रतिशत कायम गरिसकेपछि त्यही सेयर र बढेको मूल्यमा कर्जा पाउँदा लगानीकर्ताहरुको क्रयशक्ति बढ्दो छ । र, बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुँजीको ३० प्रतिशतसम्म सेयर तथा डिबेञ्चरमा लगानी गर्नसक्ने र पहिला त्यो उपयोग नभै अहिले हुन थालेकोले यस क्षेत्रमा कर्जा प्रवाह बढेको छ । जसले पनि बजार बढ्न मद्दत गरेको छ ।

अन्य देशसँग तुलना गर्दा भारत र बंगलादेशमा पनि सेयर बजार सूचकले रेकर्ड नै बनाएको छ । छिमेकी देश भारतमा पनि बिएसई इन्डेक्स ३० हजारबाट ५२ हजारमा आएको छ ।

कहिलेसम्म बुलिस ट्रेण्ड रहन्छ ?

सेयर बजारमा सबैभन्दा जटिल प्रश्न नै हो । व्यक्तिगतरुपमा म आफैंलाई पनि पछिल्लो दशकमा आउने र म आफुले गर्ने प्रश्न यही हो । तर, सेयर बजारको बुलिस ट्रेण्ड कहिलेसम्म हुन्छ । र, कहिलेदेखि बियरिस ट्रेण्ड सुरु त्यसको उत्तर दिन सकिँदैन । सेयर बजार भनेको मनोविज्ञानमा चल्ने बजार हो । जसले गर्दा एक एकवर्ष अगाडि लगानीकर्ताले  ५० रुपैयाँमा नकिनेको जलविद्युत् कम्पनीको सेयर साढे ३ सयसम्म लगानी गरेर किन्न तयार छन् ।

सेयर बजारलाई प्रमुखरुपमा प्रभाव पार्ने भनेको बैंकको ब्याजदर हो । जुन अहिले सस्तो छ । साधारण भाषमा भन्नुपर्दा पैसाको मूल्य अहिले सस्तो छ । अहिले बैंकहरुले एकवर्षको मुद्दती निक्षेप साढे ७ प्रतिशतभन्दा बढी छैन । साधारण बचतखाताको ब्याजदर साढे २ प्रतिशत हाराहारीमा छ ।

राष्ट्र बैंकका अनुसार अहिले औसतमा निक्षेपको ब्याजदर ४.८१ प्रतिशत छ भने कर्जाको ब्याजदर ८.५३ प्रतिशत छ । यसको अर्थ बैंकमा पैसा राखेर भन्दा सेयर बजारबाट अहिले फाइदा कमाउन सक्ने स्थिती छ । तर, अवस्था भने सधै यस्तो हुँदैन । २ वर्ष अगाडि बैंकहरुले १३ प्रतिशतसम्म ब्याजदरमा मुद्दति निक्षेप उठाएका थिए ।

विगतको सेयरको बुलिस र बियरिस ट्रेण्डलाई हेर्दा बैंकको ब्याजदर सस्तो भएको बेला सेयर बजार बुलिसमा जाने र ब्याजदर बढी भएको बेला बियरिसमा जाने गरेको थियो । भोलिको दिनमा बैंकको ब्याजदर महंगो हुँदै गएमा बजारमा बियरिसमा जान्छ । सेयर बजारमा बुलिस र बियरिस ट्रेण्ड भनेको लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले भनेजस्तो दिनपछि रात र रातपछि दिन हुने हो ।

कहिले शुरु होला बियरिस ट्रेण्ड ?

बढेको बजार सँधै बढिरहने भन्ने हुँदैन । त्यसैले एउटा विन्दूमा पुगेपछि बजारले बियरिस ट्रेण्ड समाउन थाल्छ । तसर्थ, यो प्रोफिट बुक गर्ने उपयुक्त समय हो भन्दा फरक नपर्ला ।

सूचीकृत कम्पनीहरुको प्रतिशेयर आम्दानी घट्दै गएको, सम्पत्तिमा प्रतिफल पनि घट्दै गएको र अर्थतन्त्रमा सुधार आएर प्रतिफल बढाइहाल्ने संभावना न्यून छ र नाफा नै दिन नसक्ने कम्पनीमा वर्षको अन्त्यमा केही मुनाफा पनि घोषणा नहुँदा खेलाडीको जालझेल मेनिपुलेसन उदाङ्ग भै लगानीकर्ताहरु निराश हुने संभावना पनि उत्तिकै छ ।

बोनस सेयरका कारण अन्य स्वाभाविक कारणले सेयरको आपूर्ति बढ्दै जाने देखिन्छ । आपूर्ति बढेपछि अर्थशास्त्रको नियमन अनुसार मूल्य घट्ने संभावना हुन्छ ।

राष्ट्रबैंकले नीतिगत परिवर्तन गर्नसक्ने प्रवल संभावना छ । विशेषगरी सेयर धितोमा कर्जा पाउने सीमा ६० प्रतिशतमा आउनसक्ने संभावना देखिन्छ । केही दिनअघि गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा बढ्दो जनसहभागिताले गंभीर छ भन्ने जनाउँछ भनेर ट्वीट गर्नु आगामी मौद्रिक नीतिमार्फत् कडाइ गरिँदैछ भन्ने प्रष्ट संकेत मिल्छ ।

लकडाउन खुलेपछि तरलता कम हुने र मौसमी अवसर छोप्ने लगानीकर्ताहरु बजारबाट कमाएर अन्यत्रै फर्किने संभावना पनि उत्तिकै भएकाले त्यसपछि बजार घट्ने धेरैको अनुमान छन् ।

नियामक निकायले साना चुक्ता पुँजीका सूचीकृत कम्पनीको कर्नरिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नीतिगत व्यवस्था गरिरहेका छन् । मंगलबार धितोपत्र बोर्डले ५१ कम्पनीको सूचि सार्वजनिक गर्दै ती कम्पनीको सेयर मूल्यमा चलखेल भएकाले लगानीकर्ताहरु जोखिममा रहेको बताउनु यसैको एउटा बलियो उदाहरण हो ।

अन्त्यमा

२०६८ सालतिर नेप्से परिसूचक बियरिस ट्रेण्डमा आउदा बैंकबाट लिएको ऋण तिर्नको लागि घर नै बेचेका लगानीकर्ता भेटेको थिएँ । त्यो बेला ती लगानीकर्ताले हकप्रद दिएको तथा बुझ्दै नबुझेर प्रतिफल नदिएका संस्थामा गरेको लगानीले आफ्नो लगानी डुबाएका थिए । सेयर बजारमा बुलिस ट्रेण्ड आएको बेला जस्तोपनि कम्पनीको मूल्य बढ्छ । अब हुने बियरिसमा यसरी लगानी गुमाउनुपर्ने लगानीकर्ता भेट्न नपरोस् भन्ने मेरो आफ्नो व्यक्तिगत इच्छा हो ।

लगानी गर्ने र फाइदा कमाउने लगानीकर्ता आफैंले हो । भोलिका दिनमा आफ्नो लगानी डुब्दा बुल बुल भन्दै फेसबुकमा टिप्पणी गर्नेहरु आउने छैनन् । बजार बियरिस ट्रेण्डमा गएको बेला बढाउनका लागि दवाव दिने लगानीकर्ताका संगठनहरुले अहिले बुलिसमा गएको बेला सचेत बनाउने खाले लेख तथा नियामकले जारी गर्ने विज्ञप्तीमा समेत विरोध जनाउँछन् ।

सेयर बजारमा किन्ने र बेच्ने दुवैलाई बाठो भनिन्छ । अर्थात् किन्ने मूल्य बढ्छ भनेर किनेको हुन्छ र बेच्नेले घट्छ भनेर बेचेको हुन्छ । आफ्नो लगानी कुन क्षेत्रमा गर्ने भन्नेमा लगानीकर्ता स्वतन्त्र छन् ।

बुझेर लगानी गर्नुहोस् ह्याप्पी इन्भेष्टमेन्ट ।


पुष्प दुलाल