वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६०% ले घट्यो, कुन देशमा कति विदेशिए ?



काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा निकै प्रभावित बनेको वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६० प्रतिशतले घटेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६०.३ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६० प्रतिशतले गिरावट आएको देखाएको हो ।

सामान्य अवस्थामा नेपालबाट रोजगारीको अवसर खोज्दै वार्षिक करिब ४ लाखदेखि ५ लाखको संख्यामा विदेशिने गर्दछ । तर, चालु आवमा कोरोना महामारीले गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या खुम्चिएको हो ।

आर्थिक वर्ष २०७६/७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक रोजगारी खोल्दै विभिन्न देशमा विदेशिएका थिए । चालु आवको सोही अवधिमा भने ७७ हजार १२ जना मात्रै विदेशिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, विदेशबाट विदामा आएका र पुनः श्रम गर्न जानेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५ सय ५१ जना थियो भने चालु आवमा सो संख्या घटेर ८९ हजार ५ सय ५४ जना विदेशिएको छ ।

गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा ४९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको तथ्याङ्कले उल्लेख गरेको छ ।

१० महिनाको अवधिमा अधिकांश देशमा श्रम गर्न जानेको संख्या घटेको छ भने केही देशमा मात्रै जानेको संख्या बढेको छ । जसमा नेपालको प्रमुख गन्तव्य बनेको कतार, युएई, मलेसिया, साउदी अरेबिया, बहराइनजस्ता अन्य मुलुकमा उल्लेख्य रुपमा जानेको संख्या घटेको छ । तर, रोमनिया, पोल्यान्ड, टर्की, अफगानिस्तान र माल्दिभ्स्मा भने जानेको संख्या बढेको छ ।

नयाँ र पुनः श्रम स्वीकृति लिई डेढ लाख बढी विदेशिए
कोरोनाले गर्दा सबैभन्दा प्रभाव परेको क्षेत्र वैदेशिक रोजगारी पनि हो । जसमा कोरोनाकै विभिन्न देशका रोजगारदाताबाट माग प्रमाणीकरण नआउने, अन्तर्राष्ट्रिय उडान बन्दलगायत विभिन्न कार्यले गर्दा रोजगारीको अवसर खोज्दै विदेशिने युवाहरूले निकै समस्या भोग्नु परेको छ । तर विविध समस्याको बाबजुद पनि नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर १० महिनाको अवधिमा साढे डेढ लाख बढी नेपाली युवा विदेशिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर १ लाख ६६ हजार ५ सय ६६ जना युवाहरू विदेशिएको हो । जसमा चालु आवकोे १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिएर ७७ हजार १२ जना विदेशिएका छन् भने पुनः श्रम स्वीकृति लिएर ८९ हजार ५ सय ५४ जना विदेशिएका छन् ।

कुन देशमा कति ?
सामान्य अवस्थामा वािर्षक ५ लाख बढी विदेशिए पनि नेपालीहरूको प्रमुख गन्तव्य भनेको खाडी मुलुक रहेको छ । नेपालबाट हालसम्म ९ वटा देशसँग श्रम सम्झौता भए नेपालीहरू १ सय १० भन्दा बढी देशमा श्रम गर्न जाने गर्दछ ।

यस्तै चालु आवको १० महिनाको अवधिमा सबैभन्दा बढी नयाँ श्रम स्वीकृति लिएर साउदी अरबमा युवाहरू गएका छन् । सो अवधिमा नेपालबाट २३ हजार ४ सय ३३ जनाले नयाँ श्रम स्वीकृति लिई विदेशिएका छन् । त्यस्तै नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई ४४ हजार ८ सय १३ जना साउदी अरबमा गएका छन् ।

कतारमा १८ हजार ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति र २८ हजार ६ सय ८४ गरी ४७ हजार ५७ जना विदेशिएका छन् । त्यसैगरी युएईमा ४५ हजार ८ सय ५६ जना, मलेसियामा ५ हजार १ सय ४३, बहराइनमा ४ हजार ५ सय १०, ओमन ३ हजार ५०, कुवेतमा २४ सय ४१ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेशिएको हो । अन्य देश रोमनिया, जोर्डन, माल्दिभ्स, साइप्रस, टर्की, जापान, पोल्यान्डलगायत अन्य देशहरूमा पनि कोरोेनाको समयमा विदेशिएको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको छ ।

युरोप मुलुक रोजगारीको लागि आकर्षक बन्दै
नेपालले मलेसियालगायत अन्य खाडी मुलुकमा रोजगारीको लागि श्रम सम्झौता गरे पनि नेपाली युवाहरूको आकर्षक बन्दै गएको देशहरूसँग श्रम सम्झौता गर्न सकेको छैन । तर, पछिल्ला दिनहरूसँग श्रम सम्झौता गर्न सकेको छैन । तर, पछिल्ला दिनहरूमा श्रम सम्झौता नभए पनि युरोपियन मुलुकमा जाने युवाहरूको संख्या बढ्दै गएको देखिन्छ ।

यस्तै कोरोनाका कारण विभिन्न देशमा श्रम गर्न जानेको संख्या घट्दै जाँदा रोमनिया, पोल्यान्ड, माल्दिभ्स्, अफगानिस्तान जस्ता देशमा भने गत वर्षको तुलनामा नयाँ श्रम स्वीकृति लिएर बढी विदेशिएको देखिन्छ । जसमा चालु आवको १० महिनाको अवधिमा नयाँ श्रम स्वीकृति लिई अफगानिस्तानमा १ हजार ४८, माल्दिभ्स्मा १० हजार १२, पोल्यान्डमा ४ सय १४ जना विदेशिएका छन् ।

त्यसैगरी अधिकांश देशमा रोजगारीमा जानेको संख्या घट्दा यी देशहरूमा भने रोजगारीमा जानेको संख्या बढेको छ । उक्त देशहरूमध्ये पनि सबैभन्दा बढी पोल्यान्डतर्फ नयाँ श्रम स्वीकृति लिई विदेशिएको संख्या बढी रहेको छ । जसमा गत वर्षको १० महिनाको अवधिमा १ सय ८२ जना गएकोमा चालु आवको सोही अवधिमा ४ सय १४ जनार्ल नयाँ श्रम स्वीकृति लिई १२७.५ प्रतिशतले विदेशिएको संख्या बढेको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी, पछिल्लो सयम रोजगारीको लागि आकर्षक बन्दै गएको रोमनिया र टर्कीमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या घटेपनि पुनः श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ । जसमा रोमिनयामा १ सय ६८ जना र टर्कीमा ६० जना जाँदा क्रमशः ९३ प्रतिशत र ९ प्रतिशतले पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।


क्लिकमान्डु