प्रदेश नम्बर १ ले ल्यायो ३२ अर्ब ४६ करोडको बजेट



काठमाडौं । प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु) ले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।

प्रदेश नंम्बर १ सरकारले चालुतर्फ १४ अर्ब १६ करोड, १५ लाख अर्थात कुल विनियोजित बजेटको ४३.०६ प्रतिशत विनियोजन गरेको छ भने पुँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात कुल विनियोजित बजेटको ४६.३ प्रतिशत विनियोजन भएको छ ।

त्यसैगरी, प्रदेश सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा जाने अनुदानका लागि ३ अर्ब २२ करोड ४२ लाख अर्थात् कुल विनियोजित बजेटको १० प्रतिशत बजेट छ्ट्याएको छ ।

उक्त प्रदेशले आगामी आर्थिक वर्षका लागि वित्तीय व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बराबर छुट्याएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वतर्फ ४ अर्ब ९ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड ६६ लाख र संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५६ करोड ७८ लाख व्यहोर्ने अनुमान गरेको छ । त्यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ बराबर र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी बजेट श्रोत अनुमान गरिएको छ ।

अपुग बाँकी रकम नगद मौज्दातबाट २ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख रुपैयाँ बराबर व्यहोरिनेछ ।


क्लिकमान्डु