बाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोड बराबरको बजेट



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बागमती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश कुमार ढुंगेलले मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गरेका हुन् ।

बागमती प्रदेशले चालुगततर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार अर्थात् ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार अर्थात् ५१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ अर्थात् ४ प्रतिशत बराबर बजेट विनियोजन गरेको छ ।

बजेट स्रोत व्यवस्थापनमा बागमती प्रदेशले कर राजस्वतर्फ २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर राजस्व संकलनको अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत बागमती प्रदेशले पाउने १९ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख, र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ बराबर स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु