हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको सेयरमा लगानी गर्नेहरु जोखिममाः धितोपत्र बोर्ड



काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेकोछ । जसमा हिमालयन डिस्टीलरी र शिवम् सिमेन्टसमेत परेका छन् ।

यी कम्पनीको सेयरमा लगानी गर्नु जोखिमयुक्त भएको भन्दै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ ।

बोर्डका अनुसार ०७३ साउन १२ गते हिमालयन डिस्टीलरीको प्रतिकित्ता सेयरमूल्य ४९५ रुपैयाँ थियो । त्यसबेला नेप्से इन्डेक्स १८८१.४५ अंकमा थियो । जबकी २०७७ वैशाख ३० गतेसम्म पुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ पुग्यो । २०७८ साल जेठ ३१ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्यमा भारी उछाल आएर प्रतिकित्ता ५४९५ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०३ रुपैयाँ ४ पैसा, मूल्य आम्दानी अनुपात ५३.१५ प्रतिशत र नेटवर्थ १८८ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यसैगरी, २०७७ बैशाख ३० गते ४७३ रुपैयाँ रहेको शिवम् सिमेन्टको प्रतिकित्ता सेयरमूल्य ०७८ जेठ ३१ गतेसम्म आइपुग्दा बढेर १५९२ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३ पैसा, मूल्य आम्दानी अनुपात ४८.२० प्रतिशत र नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा रहेको छ ।


पुष्प दुलाल