असार १ गतेदेखि बैंकहरु आवश्यकता अनुसार सञ्चालन हुने
काठमाडौं । असार १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यसअघिसम्म गरिएका निर्देशन खारेज गर्दै आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।
केन्द्रिय बैंकले सोमबार एक सूचना जारी गर्दै बैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज भएको उल्लेख गरेको छ । यस अघिको सो प्रवधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय कार्यलय बाहेक उपत्यका ३ जिल्ला ५ वटा शाखा वटा र उपत्यका बाहिर स्थानिय प्रशासनको निर्देशन अनुसार शाखा सञ्चालन गरिरहेका थिए ।
सीमित शाखाबाट मात्र सेवा दिँदा ग्राहकको भिड बढ्न गएको हुँदा कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरी आवश्यकता अनुसार शाखा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।
‘सीमित शाखा खुल्ला गरी सेवा दिँदा ग्राहकहरुको भिड अत्याधिक हुने देखियो, जसले गर्दा कोभिड संक्रमण झन बढ्ने हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘जसले गर्दा आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले आलोपालोमा न्यूनतम शाखा सञ्चालन गरी सेवा दिन भनिएको हो ।’
बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्न स्थानिय प्रशासनसँग समन्यव गरी सञ्चालन गर्नु पर्ने उनले जानकारी दिए । शाखा कार्यलयमा आवश्यकता अनुसार कर्मचारी उपस्थीति हुन सक्ने छन् भने, केन्द्रिय कार्यलयको हकमा भने एक तिहाइ कर्मचारी मात्र उपस्थित गराइ बैंकिङ सेवा सुचारु गर्नु पर्ने उनले बताए ।
जारी सुचना अनुसार बैंक तथा वित्तीय संस्थाले शाखा सञ्चालन गर्दा जनशक्ति तथा सेवाग्राहीमा संक्रमण जोखिम न्यूनिकरणको आवश्यक उपायहरु अबलम्वन गर्नुपर्ने छ । व्यवसायिक निरन्तरता दिँदै सकेसम्म प्रविधिको प्रयोग गर्दै भर्चुअल कार्यसम्पादन र वर्क फर्म होमलाई जोड दिनु पर्ने छ ।
साथै, विद्यिुतिय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै कारोबार गर्नु पर्ने छ । सञ्चालन हुने र बन्द हुने शाखाको जानकारी बैंक तथा वित्तीय संस्थाले आफ्नो वेव साइट, शाखा कार्यलयको मुल ढोका तथा सामाजिक सञ्जालमा समेत राख्नु पर्ने छ ।