१ लाख ऋणीले लिए सहुलियत दरमा डेढ १ खर्ब कर्जा, सबैभन्दा बढी कृषि विकास बैंकको (सूचीसहित)



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट करिब १ लाख ऋणीले साढे १ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म सरकारी ब्याज अनुदानमा ९५ हजार ८ सय ६ जनाले १ खर्ब ४९ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ बढी सहुलियत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जा कार्यविधि निर्माण गरी करिब ४ वर्षयता राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेका छन् । सरकारी ब्याज अनुदानमा विभिन्न १० वटा शीर्षकमा बैंक तथा वित्तीयसंस्थाले सहुलियत कर्जा ऋणीको व्यवसायीक परियोजना मूल्यांकन गरी धितो तथा धितोरहित प्रवाह गर्नु पर्ने प्रवधान छ ।

बैंक तथा वित्तीय संस्थाले यस्तो सहुलियतका कर्जा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ ।

ब्याज अनुदानमा व्यवसायीक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यामशीलता, दलित समूदाय व्यवसाय विकास, उच्च प्रविधिक शिक्षा, भूकम्प पीडितको निजी आवास निर्माण, कपडा उद्योग र सिटिइभिटी तालिमका लागि दिइने कर्जा हुन् ।

यस्ता कर्जा १० लाख रुपैयाँभन्दा माथि धितोमा प्रवाह गर्नुपर्ने प्रावधान छ भने आवश्यकता अनुसार सोभन्दा तल पनि बैंकहरुले धितो लिएर कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ ।

यी शीर्षकमा हाल ५४ वटा बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानमा सहुलियतपूर्ण प्रवाह गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी कर्जा व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा गएको छ भने सबैभन्दा थोरै कर्जा प्रविधिक तथा व्यवसायिक तालिम र युवा वर्ग स्वरोजगार शीर्षकमा गएको छ ।

कुन शीर्षकमा कतिले लिए सहुलियत कर्जा ?
राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल सहुलियतपूर्ण कर्जाको ६६.८४ प्रतिशत व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा प्रवाह भएको छ । तर सोही अवधिमा कुल कर्जाको प्रविधिक तथा व्यवसायिक तालिम शीर्षकमा जम्मा ०.०००२ प्रतिशत र युवा वर्ग स्वरोजगार शीर्षकमा ०.०००७ प्रतिशत प्रवाह भएको छ ।

चालु आवको बैशाख मसान्तसम्म कुल ९५ हजार ८०६ जनाले सहुलियत कर्जा उपयोग गर्दा व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा ४३ हजार ९९७ जनाले १ खर्ब ९ करोड ६९ लाख रुपैयाँ कर्जा उपयोग गरेका छन् । तर सो अवधिमा प्राविधिक तथा व्यवसायिक तालिम शीर्षकमा २ जनाले र युवा वर्ग स्वरोजगार शीर्षकमा ३ जनाले कर्जा उपयोग गरेका हुन् ।

केन्द्रीय बैंकका अनुसार चालु आवको बैशाख मसान्तसम्म कपडा उद्योग शीर्षकमा २ सय ६३ जना ऋणीले १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह भएको छ । जुन सहुलियतपूर्ण कर्जामा प्रवाहित कुल कर्जाको १.३१ प्रतिशत हो ।

यस्तै, दलित समूदाय व्यवसाय विकास शीर्षकमा ८ सय ४९ जनाले ५१ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन कुल कर्जाको ०.३४ प्रतिशत हो । भूकम्प पीडित शीर्षकमा २ सय ३१ जनाले ५ करोड १४ लाख रुपैयाँ कुल प्रवाहित कर्जाको ०.०३ प्रतिशत प्रवाह भएको छ ।

चालु आवको बैशाख मसान्तसम्म शिक्षित वर्ग स्वरोजगार शीर्षकमा १ सय ४२ जना ऋणीले ६ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन कुल प्रवाहित कर्जाको ०.०४ प्रतिशत हो ।

विदेशबाट फर्केका युवा परियोजना शीर्षकमा ७ सय ८२ जना ऋणीले ५७ करोड २६ लाख रुपैयाँ कर्जा लिएका छन् । जुन कुल प्रवाहित कर्जाको ०.३८ प्रतिशत हो ।

प्राविधिक तथा व्यवसायिक तालिमका लागि २ जनाले ३ लाख ७४ हजार रुपैयाँ र युवा वर्ग स्वरोजगार शीर्षकमा ३ जनाले ११ लाख ८१ हजार रुपैयाँ कर्जा लिएका छन् ।

वैशाख मसान्तसम्म प्रवाहित कुल सहुलियतपूर्ण कर्जामा महिला उद्यमी शीर्षकमा ३१.०२ प्रतिशत कर्जा प्रवाह भएको छ । सो शीर्षकमा ४९ हजार ४ सय ५० जना महिलाले ४६ अर्ब ४६ करोड १६ लाख रुपैयाँ सहुलियत कर्जा उपयोग गरेका छन् ।

कुन बैंकबाट कति सहुलियत कर्जा ?
नेपाल हाल २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वटा वित्त कम्पनी र ७२ वटा लघुवित्त वित्तीय संस्था गरी १ सय ३७ वटा बैंक तथा वित्तीय संस्थाले बैंकिङ कारोबार गरिरहेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार यी सबै वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । तर वैशाख मसान्तसम्म २७ वाणिज्य बैंक, १४ वटा विकास बैंक, १० वटा फाइनान्स कम्पनी र २ वटा लघुवित्त संस्थाले मात्र सहुलियत कर्जा प्रवाह गरेका छन् ।

जसमा २७ वाणिज्य बैंकले ८३ हजार २०२ जना ऋणीलाई १ खर्ब ३१ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ, १४ वटा विकास बैंकहरुले ११ हजार ६४५ जना ऋणीलाई १६ अर्ब ३५ करोड २७ लाख रुपैयाँ, १० फाइनान्स कम्पनीले ८५० जना ऋणीलाई १ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ र २ वटा लघुवित्तले १०९ जना ऋणीलाई ९ करोड ७६ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकद्वारा प्रवाहित सहुलियत कर्जा
प्राप्त तथ्यांकअनुसार वाणिज्य बैंकतर्फ बैशाख मसान्तसम्म सबैभन्दा बढी कृषि विकास बैंकले र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

सो अवधिमा कृषि विकास बैंकबाट ९ हजार ६३३ जना ऋणीलाई १६ अर्ब ८८ करोड ५२ जनालाइृ कर्जा प्रवाह हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १७२ जनालाई ७५ करोड ६ लाख रुपैयाँमात्र सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । साथै, सो अवधिमा एनआएसी एशिया बैंकले १ हजार ८२८ जना ऋणीलाई ११ अर्ब २ करोड २९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

यसैगरी, वैशाख मसान्तसम्म ६ वटा वाणिज्य बैंकले ५ अर्ब रुपैयाँदेखि १० अर्ब रुपैयाँसम्म र १८ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म ब्याज अनुदानमा सहुलियपूर्ण कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकद्वारा प्रवाहित सहुलियत कर्जा
राष्ट्र बैंकका अनुसार चालु आवको बैशाख मसान्तसम्म १४ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । यी विकास बैंकहरुले ११ हजार ६४५ जना ऋणीलाई १६ अर्ब ३५ करोड २७ लाख रुपैयाँ ब्याज अनुदानमा सहुलियपूर्ण कर्जा प्रवाह गरेका हुन् ।

जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै सापला विकास बैंकले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । सो अवधिमा मुक्तिनाथ विकास बैंकले ३ हजार १३२ जना ऋणीलाई ३ अर्ब ३४ करोड ९ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गर्दा सापला विकास बैंकले १५ जना ऋणीलाई १ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, सो अवधिमा ६ वटा विकास बैंकले १ अर्ब रुपैयाँदेखि साढे ३ अर्ब रुपैयाँसम्म ८ वटा विकास बैंकले १ करोड रुपैयाँदेखि ५५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

वित्त तथा लघुवित्त संस्थाद्वारा प्रवाहित सहुलियत कर्जा
चालु आवको बैशाख मसान्तसम्म १० वटा वित्त कम्पनीले ८५० जना ऋणीलाई १ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

जसमा सबैभन्दा बढी पोखरा फाइनान्सले ३३२ जना ऋणीलाई ५६ करोड ५४ लाख रुपैयाँ प्रवाह गरेको छ । साथै, सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने फाइनान्स कम्पनीमा सबैभन्दा थोरै रिलायन्स फाइनान्सले ७ जनालाई ८९ लाख ८६ लाख रुपैयाँ सहुलियत कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ४ वटा फाइनान्सले १ करोड रुपैयाँदेखि ५७ करोड रुपैयाँसम्म र ६ वटा फाइनान्सले १ करोड रुपैयाँभन्दा तल सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।

यसैगरी, वैशाख मसान्तसम्म इन्फिटी लघुवित्त वित्तीय संस्थाले १०५ जना ऋणीलाई ९ करोड ३९ लाख ४६ हजार रुपैयाँ र मेरो माइक्रोफाइनान्सले ४ जना ऋणीलाई ३६ लाख ८२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु