निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’
दमौली । कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ ।
निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीयस्थलमा यतिबेला पर्यटक छैनन् ।
म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५/२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।
रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ ।
गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
‘जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ,’ उनले भने । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।
पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो ।
‘उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौँ, रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ,’ उनले भने ।
रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ ।
‘दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच/सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ,’ उनले भने । उक्त ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजीकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।
डिभिजन वन कार्यालयमार्फत गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भिमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका-१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा छवटा उद्यान निर्माण हुँदैछ । हरितपार्क कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–८ पीपलडाँडामा रु १२ लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिनेछ । सामुदायिक वनमा पर्यावरण विकास सहयोग कार्यक्रमअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ स्थित दलिमडाँडा सामुदायिक वन, म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा उद्यान निर्माण हुनेछ । यसका लागि वन कार्यालयले रु पाँच/पाँच लाख बजेट विनियोजन गरेको छ ।
अस्पताललाई अक्सिजन सिलिण्डर
राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिका पहलमा दमौली अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । समितिका अध्यक्ष रीता ढकाल र युवा समाजसेवी अमरराज सोतीको विशेष पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताललाई कोभिडविरुद्ध सामग्री हस्तान्तरण गरिएको हो ।
अस्पताललाई तीन थान अक्सिजन सिलिण्डर, कोभिड-१९ गाउन सेट २००, मास्क दुई हजार थान, एक्जामिनेशन ९लुज० ग्लब्स २५० जोर, फेससिल्ड सय थान, गम बुट १० जोर दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शनिबार हस्तान्तरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पु¥याउने उद्देश्य र कोरोना सङ्कटको जोखिम न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्र्ने युवा समितिका अध्यक्ष ढकालले जानकारी दिए ।
यसैगरी व्यास नगरपालिकालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट आठ थान अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री प्राप्त भएको छ । कोभिड-१९ सङ्क्रमितको उपचारमा सघाउन मन्त्रालयले नगरपालिकालाई अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नगरपालिकाका अनुसार एक थान अक्सिजन कन्सन्ट्रेटर, पिपिई, अक्सिमिटर, मास्क, फेससिल्डलगायत स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो सामग्री व्यास नगरपालिका-८ का युवा अभियन्ता अमर सोतीले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।