नेपालको आर्थिक वृद्धिदर सरकारले गरेको प्रक्षेपणभन्दा आधामात्रै



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षका लागि गरेको आर्थिक वृद्धिदर प्रक्ष्येपणको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालले अनुमान गरेभन्दा आधा बराबर मात्रै आर्थिक वृद्धि सम्भव रहेको पनि विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ रिपोर्टअनुसार नेपालले चालु आर्थिक वर्ष २०७७/७८ (२०२०/२१) का लागि २.७ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । जबकि नेपालले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

त्यस्तै, विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै अनुमान गरेको छ । जबकि, सरकारले आगामी आर्थिक वर्षका लागि ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको देखिन्छ ।

नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७९/८० मा मात्र ५.१ प्रतिशतले सम्भव हुने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२१ मा विश्वको अर्थतन्त्र भने ५.६ प्रतिशतले वृद्धि हुने प्रक्ष्येपण विश्व बैंकले गरेको छ । यो पछिल्लो ८० वर्षयताकै ठूलो आर्थिक वृद्धिदर हो ।

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चाजल गरेर आगामी आर्थिक वर्ष साढे ६ प्रतिशतको वृद्धिदर लक्ष्य राखेपनि खोप कार्यक्रम कार्यान्वयनमासमेत नेपालको अवस्था कमजोर देखिएको छ ।

दक्षिण एसियामा खोप उपलब्ध गराउने मुलुकहरुमा प्रति १ सय जनसंख्यालाई आधार मान्दा माल्दिभ्स, भुटान र भारतपछि मात्र नेपालले खोप उपलब्ध गराइरहेको पनि विश्व बैंकले जनाएको छ ।

त्यस्तै, अल्पविकसित र विकासशील देशहरुमा महामारीको असरका कारण गरिबी र खाद्य सुरक्षाका विषयहरु सबैभन्दा चुनौतीपूर्ण हुने भएकाले ती देशहरुको ऋण चुक्ता गर्नुपर्ने अवधि र कोभिड १९ सँग सम्बन्धित राहत कार्यक्रमको समयावधि थपेर आगामी डिसेम्बर सम्म पुर्याइएको पनि विश्व बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।


क्लिकमान्डु