विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था सकरात्मक: सिविफिन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको भन्दै स्वागत गरेको छ ।

परिसंघले विगतदेखि नै उठाइरहेको र परिसंले गभर्नर महाप्रसाद अधिकारीसमक्ष ०७७ असार २८ गते र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ०७७ पुस १९ गते पेश गरिएको सुझाव सम्बोधन भएको भन्दै आभार प्रकट गरेको हो ।

नयाँ व्यवस्था भएसँगै विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्नेछैन । यसले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको निमित्त मार्ग प्रशस्त गर्ने परिसंघको अपेक्षा छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासका कारण विश्व अर्थतन्त्रमा नै मन्दी आइरहेकोे अवस्थामा आर्थिक गतिविधि बढाउनको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने र त्यसका लागि यो नीतिले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ ।

‘राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भई आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक बृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेछ,’ परिसंघका बरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परिसंघ सबै प्रकारका बैंक वित्त कम्पनीका अध्यक्षहरुको संगठन हो ।


पुष्प दुलाल