एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तरराष्ट्रिय कल शुल्क, अब कति लाग्छ ?



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तरराष्ट्रिय कल शुल्कको स्वीकृती प्रदान गरेको थियो ।

प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तरराष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तरराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रति मिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क कर बाहेक रु ३०.६५ निर्धारण भएको छ ।

यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । अझैपनि माल्दिभ्सको लागि एनसेलको प्रति मिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्क भन्दा निकैनै कम रहेको छ ।

अन्तरराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ ।

साथै यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तरराष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तरराष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तरराष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ ।

केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रति मिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको छ ।

स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६÷७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापत रु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जानेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु १ अर्ब २७ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।


पुष्प दुलाल