उद्योग विभाग र लगानी बोर्डबाट स्वीकृति पाएपछि विदेशी लगानीको लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीलाई सहजिकरण गर्दै केन्द्रिय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ ले विदेशी लगानी भित्राउनको लागि सहजिकरण गरेको हो ।

विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुँने व्यवस्था विनियमावलीले गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विनियमावलीले लगानीकर्तालाई सजिलो बनाउने बताए ।

‘राष्ट्र बैंकले विदेशी लगानी भित्राउने र लैजाने प्रक्रियालाई सहजिकरण बनाएको छ,यसले विदेशी लगानी भित्राउनको लागि थप सहज हुने छ,’अधिकारीले भने ।

तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, अनुसूची–२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ ।

तर, जुनसुकै कुरा लेखिएको भएतापनि शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग÷कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग÷कम्पनीको खातामा जम्मा गर्नेछ ।

यसरी भित्रिएको लगानी ६ महिनाभित्र राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्ने हुन्छ ।

विदेशी लगानी फिर्ता लैजाने व्यवस्था पनि सहजिकरण राष्ट्र बैंकले गरेको छ ।  विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिसको आधारमा गरिने उल्लेख छ ।

तर, विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिस उपलब्ध नहुने प्रकृतिको कारोबार वा शाखा कार्यालयहरूमार्फत हुने कारोबारसँग सम्बन्धित सटही सुविधा आवश्यक प्रमाण र औचित्यको आधारमा राष्ट्र बैंकबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सकिनेछ ।

राष्ट्र बैंकले १५ दिनभित्रमा विदेशी लगानी फिर्ता लैजाने विषयमा १५ दिनभित्र लिखित रुपमा जानकारी दिने छ ।

उप–विनियम (४) बमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजानको लागि विदेशी मुद्राको सटही स्वीकृति प्रदान गर्दा जुन विदेशी लगानीकर्ता र देशबाट विदेशी लगानी भित्रिएको हो सोही विदेशी लगानीकर्ताको नाममा रहेको बैंक खातामा रकम जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी लगानी तथा आर्जित रकम फिर्ता हुने गरी विदेशी मुद्राको सटही स्वीकृति प्रदान गरिने बिनियमावलीमा उल्लेख छ ।

विदेशबाट ऋण लिनको लागि भने राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक रहेको छ । प्रचलित कानूनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपाल बाहिरबाट अनुसूची–१० मा उल्लिखित व्यवस्थाको अधीनमा रही भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्रामा ऋण लिनु परेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।

बमोजिमको विदेशी ऋण लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिनेछ । स्वीकृत विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनुसूची–१२ को ढाँचामा प्रमाणपत्र जारी गर्नुपर्नेछ ।

यसरी ल्याएको ऋणको लेखाङ्कन भने राष्ट्र बैंकमा गराउनुपर्ने हुन्छ ।

विनियम ७ बमोजिम नेपाल भित्रिएको विदेशी ऋणलाई लेखाङ्कन गराउन ऋणीले अनुसूची–१३ बमोजिमका कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र अनुसूची–१४ बमोजिमको ढाँचामा एकाई वा विभागमा निवेदन पेश गर्नुपर्नेछ ।

विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखाङ्कन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखाङ्कनका लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु