मेट लाइफका कर्मचारीको चेतावनीः गाँसै खोसेर समाजिक सुरक्षा कोषमा आवद्ध गराए द्वन्द्ध हुन्छ



काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अस्वीकार गरेका छन् । कम्पनीको कर्मचारी युनियनले विज्ञाप्ती जारी गर्दै संस्थाले दिइरहेको सेवा सुविधा छोडेर कोषमा आवद्ध हुन नसकिने प्रष्ट पारेका हुन् ।

कोषमा भएका विभिन्न बुँदा संशोधन नगरेसम्म कोषमा आवद्ध हुन नसकिने र गाँसै खोसेर कोषले जबर्जस्ती गरे द्धन्दको अवस्था सिर्जना हुन सक्ने युनियनले चेतावनी दिएको छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले ३० वर्षदेखि खाइपाइआएको सेवा सुविधाबाट विमुख हुनुपर्ने आवस्था सिर्जना भएको भन्दै युनियनले सरोकारवालालाई ध्यानाकर्षण गराएको हो ।

‘बैंक, बीमा तथा वित्तीय क्षेत्रको सेवा सुविधा र सामाजिक सुरक्षाले गर्दा स्वदेशमा बसेर आफु र आफ्ना आश्रित परिवार सुखद् भविष्यको आशामा मातृभुमिमा रगत पसिना बगाउन प्रेरित यस क्षेत्रका तमाम पेशाकर्मीहरुलाई गाँस खोसेर यो देशमा तिमीहरुको भविष्य छैन भनी सामाजिक सुरक्षा कोषले भन्न खोजेको त होइन ?’ जारी विज्ञाप्तीमा भनिएको छ ।

जिम्मेवार निकायबाट यथासमयमा समाधानका उपायहरु निकाली समस्याको समाधान गर्न युनियनले जोडदार माग गरेको छ ।

यस्तो छ विज्ञप्ति


पुष्प दुलाल