बिजुली उत्पादनमा निजी क्षेत्रले प्राधिकरणलाई उछिन्यो, भारतबाट झण्डै ५०% कम आयात



काठमाडौँ । निषेधाज्ञाका कारण उद्योग, कलकारखाना तथा व्यवसायीयक प्रतिष्ठान प्रणालीमा बिजुलीको माग क्रमशः घट्दै गएको छ ।

प्रणालीमा माग नै नभएपछि भारतबाट बिजुलीको आयात पनि घटेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको भन्दा निजी क्षेत्रको बिजुली उत्पादन बढी भइरहेको छ ।

प्राधिकरणका आयोजनामध्ये कुलेखानीका तीन वटा प्लान्ट बन्द गरिएको छ । सोही कारण निजी क्षेत्रको बिजुली उत्पादन बढी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट कूल ९ हजार ४६ मेगावाट घण्टा मात्रै बिजुली उत्पादन भइरहेको छ ।

यस्तै, निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार ५२२ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । यस्तै, भारतबाट ६ हजार ७०१ मेगावाट घण्टा बिजुली आयात भइरहेको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार प्रणालीमा कूल २६ हजार ३६९ मेगावाट घण्टा रहेको छ ।

यस्तै, साँझको समयको पिक डिमाण्ड भने १ हजार २२७ मेगावाट रहेको छ । यस्तै, प्रिमनसुनको समयमा बर्षा तथा चट्याङलगायतका कारण प्रणालीमा १०० मेगावाट घण्टा अवरोध रहेको छ ।

निषेधाज्ञाले वीरगञ्ज, हेटौडा, विराटनगर तथा परवानीपुर औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द अवस्थामा छन् । काठमाडौँ उपत्यका भित्रको विद्युत् माग समेत २५० देखि २८० मेगावाटको हाराहारीमा मात्रै रहेको छ । दिउँसो र रातको समयमा असाध्यै न्यून मात्रामा बिजुलीको माग असाध्यै कम छ ।


क्लिकमान्डु