लगानीकर्ता बैंकिङमा आकर्षित, नेप्से हालसम्मकै उच्च अंकमा
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा लगानीकर्ताको उत्साह कायमै छ । लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको छ ।
कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक ५०.१३ अंकले बढेर २८०६.८९ अंकमा पुगेर बन्द भएको छ । आइतबारको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको थियो ।
यो दिन ९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो ।
यो दिन महिला लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानसको सेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको सेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।
उपसमूहतर्फ लगानी समूहमा ३.९७ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत र बैंकिङ उपसमूह ३.६६ प्रतिशतले बढेको छ ।