विकासमा विकृतिः सिंगटी लामोसाँघु प्रसारण लाइन निर्माण सकिन लाग्यो १२ वर्ष



काठमाडौं । नेपाली समाजमा एउटा उखान छ, १२ वर्षमा खोला पनि फर्कन्छ । यस्तै भएको छ, एक आयोजनामा । सरकार भन्छ, रणनीतिक महत्वका कुनै पनि आयोजनामा कुनै पनि प्रकारको अवरोध हुँदैन ।

एउटा, आयोजना सम्पन्न गर्न कति समय लाग्छ ? दुई वर्ष, तीन वर्ष वा चार वर्ष । तर, एउटा आयोजना सम्पन्न गर्नका लागि १२ वर्ष लाग्छ भन्दा तपाईंलाई कस्तो लाग्छ ? आमरुपमा उत्तर छ, नेपाल हो भन्न सकिदैन ।

नेपालमा काम गर्ने शैली, सरकारी प्रक्रिया तथा वन क्षेत्रको जग्गा प्राप्तिलगायतका अनेकन झन्झटका कारण एउटा प्रसारण लाइन निर्माणमा असाध्यै उल्झन भोग्नु परेको छ ।

कूल २ वर्षमा सक्नुपर्ने आयोजना १० वर्ष ढिला सकिएको छ । त्यो पनि १३२ केभी क्षमताको प्रसारण लाइन । अनेकन उल्झन, अनेकन हण्डर सहेर बल्ल शनिबार सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

केही समय अघि मात्रै साधारण सेयर बिक्री गरेको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत् आयोजना अब सो प्रसारण लाइन भएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

आयोजनाका लगानीकर्ता गणेश कार्कीका अनुसार आगामी १५ दिनभित्र आयोजनाको पूरा काम सम्पन्न हुनेछ ।

प्रसारण लाइनको ९३ र ९४ नम्बर टावर शनिबार पूरा भएको हो । सिन्धुपाल्चोकको पिस्कर गाउँपालिकास्थित देउराली जलजलामा रहेको ९३ र ९४ नम्बरको अन्तिम टावरको काम सम्पन्न भएको हो । डबल सर्किट क्षमताको सो प्रसारण लाइनको सिंगल सर्किट मात्रै सम्पन्न भएको छ ।

प्रसारण लाइनको तार तान्ने काम समेत पूरा भएको छ । अब कूल ८ किलोमिटर क्षेत्रमा अर्थिङ गर्न बाँकी रहेको छ ।

सिंगल सर्किटको काम पूरा भएकाले दुई सातामा बिजुली जोडिने बताइएको छ । सो प्रसारण लाइन निर्माणका लागि नेपाल प्राधिकरणले भारतीय कम्पनी अरावली इन्फ्रा पावरलाई जिम्मा दिएको थियो । भारतीय ठेकेदार कम्पनीको काममा ढिलाई गर्ने प्रवृत्तिका कारण पनि आयोजनामा ढिलाई भएको हो ।

सिंगटीका आयोजनाका प्रवद्र्धक समेत मिलेर प्राधिकरण र ठेकेदारलाई सहयोग गरेका कारण प्रसारण लाइनको काम सम्पन्न भएको हो । अन्यथा अझै एकाध वर्ष लाग्ने सम्भवना रहेको थियो ।

दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म कूल ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । कूल १२४ वटा टावर निर्माण भएका छन् ।

अन्य देशमा सामान्य रुपमा यस्ता आयोजना सम्पन्न गर्न एकाध वर्ष मात्रै लाग्छ । नेपालमा भने १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्न भने एक दशक भन्दा कम लागेको आयोजना भेटन मुस्किल रहेको छ ।


क्लिकमान्डु