जग्गाधनीले चित्तबुझ्दो जवाफ नदिए २१ दिनभित्र ललितानिवासको जग्गा सरकारको हुने



काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्ने व्यक्तिका नाममा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा सार्ने ४९ जनाविरुद्ध मालपोत कार्यालयले सूचना जारी गरेको हो ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमा सूचना प्रकाशित गर्नुपरेको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार २१ दिनभित्र जग्गाधनीले सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण पेश गर्नुपर्ने छ । चित्तबुझ्दो जवाफ नपाए र जवाफ नदिए अबको २१ दिनभित्र उक्त जग्गा सरकारको नाममा नामसारी हुनेछ । 


पुष्प दुलाल