उपत्यकाको विद्युत् तार भूमिगत गर्ने काम ठप्प, आयोजना प्रमुख भन्छन्- वार्षिक लक्ष्य भेट्छौं



काठमाडौं । काठमाडौं उपत्यकाभित्रको विद्युत् वितरण प्रणालीलाई अत्याधुनिक र प्रविधिमैत्री बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले गतवर्षबाट शुरु गरेको काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाको काम निषेधाज्ञा पछि ठप्प भएको छ ।

गत वैशाख १६ गतेबाट शुरु भएको निषेधाज्ञापछि विकास निर्माणका काममा पछिल्लो एक हप्ता मात्रै रोक लगाइएको थियो । तर कामदारहरु आउन छोडेपछि आयोजनाको दैनिक कार्य प्रगति शून्यमा झरेको हो ।

‘सामान्य अवस्थामा दैनिक १ सयको हाराहारीमा कामदार खटिन्थे र १ किलोमिटरसम्म भूमिगत तार बिच्छाउन सकिथ्यो । तर अहिले सबैतिरको काम रोकिएको छ,’ आयोजनाको महाराजगंज वितरण केन्द्रअन्तर्गत पर्ने मध्य-पश्चिम क्षेत्र हेर्ने आयोजना प्रमुख अभिषेक अधिकारीले भने ।

अधिकारीका अनुसार शुक्रबारबाट निषेधाज्ञा केही खुकुलो भएर विकास निर्माणका काम पनि गर्न दिने गरी जिल्ला प्रशासनले निर्णय गरेपछि आजबाट केहि कामदारहरु काममा फर्किएका छन् ।

‘आज केही कामदारहरु आएर काम शुरु गरेका छन् । निकै कम संख्यामा भएकाले कार्यप्रगति खासै हुने देखिदैन,’ अधिकारीले भने ।

यद्यपि, गत हिउँदमा द्रुत गतिमा काम भएकाले चालु आर्थिक वर्षको आयोजनाको भौतिक प्रगतीको लक्ष्य भेटिनेमा आफू आशावादी रहेको अधिकारीको भनाइ छ । आयोजनाको मध्यपश्चिम क्षेत्रअन्तर्गत् बुढानिलकण्ठ क्षेत्रको काममा उल्लेख्य प्रगति देखिएको छ ।

यो क्षेत्रको वितरण प्रणाली भूमिगत बनाउन भारतीय निर्माण कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडले गतवर्ष ठेक्का पाएको थियो ।

त्यस्तै, वितरण प्रणाली सुदृढिकरण परियोजनाको पूर्व–उत्तर क्षेत्र हेर्ने आयोजना प्रमुख सुमन श्रेष्ठले पनि निषेधाज्ञापछि आयोजनाका काम पूर्ण रुपमा प्रभावित भएको बताए ।

‘अधिकांश कामदार भारतबाट आएका थिए । निषेधाज्ञापछि उनीहरु घर फर्किएका छन् । यहाँकै कामदारहरु पनि काममा फर्किन सक्ने अवस्था छैन,’ उनले भने ।

यो आयोजनाअन्तर्गत अहिले चाबहिलदेखि चुच्चेपाटी र चाबहिलदेखि मित्रपार्कसम्मको करिब ७ किलोमिटर र कोटेश्वरदेखि जुडिबुटीसम्मको लगभग ४ किलोमिटर क्षेत्रमा काम सकिसकेको छ ।

आयोजनाको तेस्रो चरणको काम भने ठेक्का सम्झौता भएर रोकिएको छ । यो आयोजनाको पश्चिम क्षेत्रको ठेक्कापट्टा मात्रै सकिएको र निषेधाज्ञाका कारण काम शुरु हुन नसकेको आयोजना प्रमुख पियुष ताम्रकारले बताए ।

ठेक्कापट्टापछि सर्वेक्षण र डिजाइनको काम भइरहेकोमा अहिले फिल्ड वर्कको काम रोकिएको उनले जानकारी दिए ।

‘डिजाइनको काम त हामी अनलाइनबाट पनि गरिरहेका छौं । तर सर्वेक्षणका लागि फिल्डमै जानुपर्ने हुँदा त्यो रोकिएको छ,’ ताम्रकारले भने ।
पश्चिम क्षेत्रअन्तर्गत बानेश्वर, जोरपाटी, साँखु, पेप्सिकोला, टाउनप्लानिङ, कलंकी, कीर्तिपूर,

कुलेश्वरलगायत क्षेत्र समेटिएको तेस्रो चरणको कामका लागि भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । आयोजनाको काम ३ वर्षभित्र सक्नेगरी ठेक्का सम्झौता भएको छ ।

अहिले काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रमा मात्रै काम शुरु भएकोमा नेपाल विद्युत् प्राधिकरणले भक्तपुर र ललितपुर महानगरपालिका भित्रको भूमिगत तार बिच्छाउने कामका लागि ठेक्कापट्टाको प्रकृया शुरु भइसकेको जनाएको छ ।


क्लिकमान्डु