होटल व्यवसायमा आक्रमक सिजी कर्प ग्लोवल, भारतमा मात्रै २६ वटा होटलमा लगानी गर्दै



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोवलले भारतीय सूचिकृत होटल खरिद गर्ने भएको छ । सिजी कर्प ग्लोवलले भरतमा मात्रै थप २६ वटा होटल खरिद गर्न लागेको हो ।

यी होटलहरु सन् २०२२ देखि सञ्चालनमा ल्याउने गरी खरिद गर्न लागेको भारतीय सञ्चारमाध्यम ‘इकोनामिक टाइम्स’ले समाचार प्रकाशित गरेको छ ।

‘अहिले हामी भारतमा सञ्चालनमा रहेका ख्यातिप्राप्त होटलहरु खरिद गर्ने तयारीमा छौं । ग्रुपले होटल व्यवसायमा थप लगनी गर्ने उद्देश्यले होटलमा लगानी गर्न लागेको हो,’ सिजी कर्प ग्लोवलका कार्यकारी निर्देशक राहुल चौधरीले भने ।

अहिले कम्पनीले व्यवसायिक सम्झौताको अन्तिम चरणमा रहेको उनले बताए ।

सिजी कर्प ग्लोवलले अहिले हस्पिटालिटी व्यवसाय अन्तर्गत ‘द फर्न, द फर्न रेसिडेन्सी, द जिंक लिविङ र बेकोन ब्राण्ड अन्तर्गत हस्पिटालिटी उद्योग सञ्चालन गरिरहेको छ । सोही व्यवसाय बिस्तारका क्रममा कम्पनीले अब थप होटल खरिद गर्न लागेको हो ।

फर्न ब्राण्ड अहिले विशुद्ध म्यानेजमेन्ट कम्पनी हो । यसबाट कम्पनीले थप ४०० वटा होटल रुम थप गर्ने चौधरीको भनाइ छ ।

अहिले सिजीले विश्वका १० वटा देशमा ११२ वटा होटलका ६ हजार १३ वटा रुमबाट आतिथ्य सेवा प्रदान गरिरहेको छ । कम्पनीले थप २९ वटा होटल प्रपर्टीज थप गर्ने योजना बनाएको छ । जसमध्ये २६ वटा होटल भारतमा छन् भने यी होटलहरु सिजी क्रपले सन् २०२२ देखि सञ्चालन गर्ने योजना बनाएको छ । त्यसबाहेकका ३ वटा सिजी क्रप ग्लोबलले ज्वाइन्ट भेञ्चरमा नेपाल, भुटान र थाइल्याण्डमा सञ्चालन गर्नेछ ।

चौधरीका अनुसार कम्पनी यतिबेला फूड स्पेसमा बिग मर्जर र प्राप्तिको प्रक्रियामा छ ।

‘एमफसिजी सूचिकृत कम्पनी भएकाले यसमा म धेरै जानकारी दिन असमर्थ छु, तर हामीहरु यतिबेला कम्पनीको बिस्तार र फूड बिजनेसलाई बलियो बनाउने प्रक्रियामा छौं,’ चौधरीले भने ।

सिजी क्रप ग्लोवलले यतिबेला ३ अर्ब रुपैयाँभन्दा बढी रकम भारतको पश्चिम बंगाल र उत्तरप्रदेशका उद्योगमा लगानी गर्ने योजना बनाएको छ ।

एफएमसिजी अन्तर्गतको सिजी फूडले २ हजार ४ सय करोडभन्दा बढी आम्दानी वाइवाइ चाउचाउबाट मत्रै गर्दै आएको छ । कम्पनीले यसलाई मल्टि प्रडक्ट कम्पनीका रुपमा बिस्तार गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु