साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले २०% छुटमा खाद्यान्न बेच्ने, रू ११२० मै ग्यास सिलिन्डर



काठमाडौं । सरकारी स्वामित्वका २ वटा निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले विभिन्न खाद्य वस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिएर बिक्री वितरण शुरु गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत् ‘राहत, सहुलियत र पुनरुत्थान कार्यक्रम’ अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने सामग्रीमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

सरकारको उक्त घोषणापछि ती सरकारी निकायहरुले बेच्दै आएको चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी, तथा खाना पकाउने ग्यासमा उपभोक्ताले छुट पाउनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिहीबारबाट यी वस्तुमा छुट दिन थालेका हुन् ।

खाद्य व्यवस्था कम्पनीले बेच्ने चामलमा अधिकतम ३० किलो र कर्णालीको सिमी अधिकतम २ किलो २० प्रतिशत छुट रकममा किन्न सकिनेछ । त्यस्तै, भरिएको ग्यास सिलिन्डर ११२० रुपैयाँमै पाइनेछ ।

साल्ट ट्रेडिङले २ किलो सम्मको पिठो, चिनी, नूनमा र १ लिटरको भटमासको तेलमा छुट दिने उल्लेख गरेको छ ।

यो छुट निषेधाज्ञा लागू भएका क्षेत्रमा निषेधाज्ञा अवघिसम्म मात्र लागू हुनेछ ।


क्लिकमान्डु