बजेट कार्यान्वयनको सबै पूर्वतयारी आर्थिक वर्ष शुरु हुनु अगावै सक्नेगरी छलफल तीव्र



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सबै पूर्वतयारीहरु सक्न अर्थमन्त्रालयले अरु विषयगत मन्त्रालयहरुसँग छलफल तीव्र पारेको छ ।

आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको पूर्वतयारी आउँदो असार मसान्तभित्रै सक्नेगरी छलफल अघि बढाइएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष शुरु भएकै दिनबाट बजेटका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयसँग छलफल तथा अन्तरक्रिया गर्न थालिएको उनले बताए ।

‘बजेट कार्यान्वयन गर्नका लागि जति पनि पूर्वयारीका काम छन्, तिनलाई आगामी आर्थिक वर्ष शुरु हुनु अगावै सक्ने भन्ने हो,’ प्रवक्ता आचार्यले भने, ‘कार्यविधि बनाउने, ठेक्कापट्टाका लागि काजगात तयार पार्ने र अन्तरमन्त्रालय समन्वय गरेर केही विषय टुंगाउनु छ भने त्यसलाई टुंगाउनेलगायतका विषयमा सबै मन्त्रालयसँग छलफल थालिएको हो ।’

अर्थमन्त्रालयले अरु विषयगत मन्त्रालयहरुलाई योजना तथा कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण र समन्वयका लागि पहल गर्नेलगायतका विषयमा छलफल भएको पनि आचार्यले बताए ।

अर्थमन्त्रालयले बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल गरेको हो । छलफलमा सबै मन्त्रालयका सचिव र मन्त्रीहरु सहभागी थिए ।

अर्थमन्त्रालयले यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संचार प्रविधि मन्त्रालयसँग छलफल गरिसकेको छ ।


क्लिकमान्डु