सिटिजन लाइफ इन्स्योरेन्समा अनलाइनमार्फत् बीमा दाबी गर्न सकिने
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले अनलाइनमार्फत् भुक्तानीका लागि दाबी गर्न सकिने सेवा शुरु गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेको हो ।
यस सुविधामार्फत् अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ ।
कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनवाट दावी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिन्छ । सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ डिजिटल अभियान अन्तर्गत अनलाईनमार्फत् बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत १ बर्षदेखि सञ्चालन गरेको छ । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ ।
डिजिटल अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि इ-सेवा, फोन पे, कनेक्ट आइपीएसलगायतका डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउनुका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ ।