आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी ३ वर्षमा ३० प्रतिशतले बढ्यो



काठमााडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी उल्लेख्य मात्रामा बढेको छ ।

सन् २०१९ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१९ मा ४ अर्ब २५ करोढ ३० लाख रुपैयाँ र सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले ३ वर्षमा २९.९५ प्रतिशतले आम्दानी वृद्धि गरेको छ ।

करिब ११ लाख ग्राहक रहेको कम्पनीले इन्टरनेट सेवा पनि बिस्तार गरिरहेको छ । निकट भविष्यमै स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेट पुर्याउने तयारीका साथ काम गरिरहेको छ ।

कम्पनीले आगामी दिनमा स्याटेलाइटमार्फत् इन्टरनेट बिस्तार गर्ने योजना बनाएको छ भने कम्पनीले सन् २०२० को फेब्रुअरीमा आइएसपीको लाइसेन्स समेत प्राप्त गरिसकेको छ ।

पछिल्लो समयमा इन्टरनेट पनि बिस्तार गरिरहेको कम्पनीले आम्दानीसँगै बजार हिस्सा पनि बढाउँदै लगेको छ ।

कम्पनीले हाल ५८ वटा एचडी च्यानल र १४९ वटा एसडी च्यानलसहित २०७ वटा च्यानटल उपलब्ध गराउँदै आएको छ भने डिसहोम गोमार्फत् ७० वटा प्रिमियम च्यानलसमेत उपलब्ध गराउँदै आएको छ । साथै १६ वटा आफ्नै च्यानल पनि प्रसारण गरिरहेको छ ।

कम्पनीले सन् २०२० मा ग्राहकको संख्या ४.०४ प्रतिशतले बढाएको छ जसका कारण सब्सक्रिप्सनबाट हुने आम्दानी २४.४९ प्रतिशतले बढेको छ भने अन्य आम्दानी सन् २०१८ को तुलनामा सन् २०१९ मा १२.७७ प्रतिशतले बढाएर २ करोड १० लाख रुपैयाँ पुर्याएको छ ।

पछिल्ला वर्षहरुमा कम्पनीले ऋण घटाएको छ । सन् २०१९ मा २ अर्ब ३२ करोड ३० लाख रुपैयाँ ऋण रहेको कम्पनीले सन् २०२० मा ऋण घटाएर २ अर्ब २४ करोड ५० लाख रुपैयाँमा झारेको छ ।

कम्पनीले केही समयअघिदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा जेटेको छ । कम्पनी सन् २०१७ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको थियो ।

कम्पनीको सेयरमध्ये ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनीसँग छ भने बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताहरुको हिस्सामा छ । कम्पनीका अध्यक्ष हेमराज ढकाल हुन् ।

ढकाल आइएमई ग्रुपका प्रबन्ध निर्देशक, आइएमई जनरल इन्स्योरेन्सका र हाथवे इन्भेष्टमेन्टका अध्यक्ष र चन्द्रागिरि हिल्स प्रालिका निर्देशक समेत हुन् । त्यसैगरी सुदीप आचार्य कम्पनीमा प्रबन्ध निर्देशक हुन् । उनी कामना सेवा विकास बैंकका अध्यक्ष समेत हुन् ।

डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि गत वर्षको असार २७ गते आवेदन दिएको थियो ।


पुष्प दुलाल