मूल्यवृद्धि भएपछि तेल उत्पादन बढाउने ओपेकको निर्णय



एजेन्सी । संसारभर नै कोरोनाका कारण सम्पूर्ण आर्थिक गतिविधि बन्द भएपछि तेलको मूल्यमा समेत प्रभाव पर्न थालेको छ ।

जति बढी आर्थिक गतिविधि भयो त्यत्ति नै बढी तेलको खपत बढ्ने सर्वमान्य सिद्धान्त रहेको छ । त्यस विपरीत आर्थिक गतिविधि ठप्पप्रायः अवस्थामा छ ।

दक्षिण एशियामा सबैभन्दा बढी तेल खपत गर्ने भारतमा कोरोनाको दोस्रो लहर चरम उत्कर्षमा पुगेको छ । बंगलादेश, पाकिस्तान, नेपाल म्यानमारलगायतका देशमा कोरोनाको अवस्था भयावह रहेको छ ।

सोही कारण अर्थतन्त्रमा प्रभाव पार्ने तेल खपत कम भएको छ । तर संसारका अन्य केही देशमा भने कोरोनाको लहर कम भएसँगै सोही अवस्थालाई ध्यान दिएर तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रले प्रतिदिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् ।

कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।

ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मंगलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो ।

साउदी अरेबियाका ऊर्जामन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको बताए । उनले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि क्षितिजमा कालो बादल अझै देखिएको बताए ।

ओपेकले मेदेखि जुलाइका तीन महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रतिदिन ३ लाख ५० हजार ब्यारेल तथा जुलाइमा ४ लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ ।

साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।

ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ ।

हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ ।

तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायीत्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन् ।

अहिले विश्व बजारमा तेलको मूल्यमा निकै सुधार आएको छ र मंगलबार मात्र दुईवर्ष यताकै सबैभन्दा बढी मूल्य कायम भएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ ।

हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाइ छ ।

मंगलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत बृद्धि भई ६७.७२ डलर प्रतिब्यारेल पुगेको थियो । ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो ।

ब्रेन्ट क्रुडको मूल्य विगत २ वर्षको अवधिमा यो सबैभन्दा बढी हो । अमेरिकी कच्चा तेलको मूल्य ३ वर्षयताकै सबैभन्दा बढी हो ।

बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेञ्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ ।

तेलको मूल्यमा यस वर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । इन्धनको मूल्य घटदा र उत्पादन बढ्ता त्यसको सबैभन्दा बढी प्रभाव विकासोन्मुख तथा अल्पविकसित देशमा पर्नेछ ।


क्लिकमान्डु