अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं। अस्पतालहरुले मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई प्रवाह गर्ने सेवा र त्यसमा लाग्ने शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमण महाशाखाले देशभरका सबै अस्पतालहरुलाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।
बिरामीको उपचार वापत लाग्ने रकमबारे जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार हो र बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवं नैतिक कर्तव्य हो भएको मन्त्रालयको निर्देशनमा उल्लेख छ ।
‘सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थावाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्य सूची संचालक समिति वा आधिकारिक निकायबाट निर्णय गराई अनिवार्य रुपमा आ–आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने, सूचना पाटीमा सबैले देख्ने गरी राख्ने र सोको जानकारी स्वास्थ्य संस्था संचालन ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनु हुन अनुरोध छ,’ महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायले जारी गरेको निर्देशनपत्रमा उल्लेख छ ।
साथै मन्त्रालयले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रणको विषम परिस्थितिमा अक्सिजनको चर्को शुल्क लिएको, अनावश्यक परीक्षण गराएकोजस्ता विषय पनि गुनासो आएकोले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।