सानिमा बैंकको मोबाइल बैंकिङ एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध
काठमाडौं । सानिमा बैकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई-बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ ।
यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहक महानुभावहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैंकिङ एपबाट पठाउन सक्नेछ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधामध्ये एक रोज्न सक्नेछन् ।
यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरुमार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो इ–बैंकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएम संचालनमा रहेका छन् ।