४ वटा प्रदेशले बोलाएनन् बजेट अधिवेशन, पूर्वबजेट छलफल प्रभावित



काठमाडौं । प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत् बजेट ल्याएको संघ सरकारको कार्यशैलीको नकारात्मक प्रभाव प्रदेश सरकारको बजेटमा पनि पर्ने देखिएको छ ।

संसद सञ्चालन गर्दा विपक्षीहरुले सरकारको वैधानिकता माथि प्रश्न उठाउने र बजेटसमेत पारित हुन नदिने अवस्थाको सामना गर्नुपर्ने भएपछि संसद छलेर बजेट ल्याउने कार्यशैलीको बाछिँटा केही प्रदेश सरकारमा पनि पर्ने देखिएको हो ।

कोभिड १९ महामारीको प्रभावसँगै राजनीतिक अस्थिरता र सत्ता दाउपेचका कारण संघ सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रभावित भएको थियो ।

पूर्वबजेट छलफल प्रभावारीरुपमा हुन पाएन भने सरकारले मनमौजी रुपमा आय–व्ययको विवरण सार्वजनिक गर्यो । यही अवस्था अब प्रदेश सरकारको बजेटमा पनि आइपर्ने देखिएको छ ।

संघीय सरकारका लागि जेठ १५ जस्तै प्रदेश सरकारलाई पनि असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । बजेट ल्याउन २ हप्ताभन्दा कम समयावधि बाँकी रहँदा पनि चारवटा प्रदेशले प्रदेश सभा अधिवेसन बोलाएका छैनन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा बैठक बोलाउँछन । बाग्मती र गण्डकी प्रदेश सभाले आइतबारबाट बजेट अधिवेसन बोलाएर पूर्वबजेट छलफल पनि शुरु गरिसकेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश सभाले जेठ १९ गते बुधबारका लागि बजेट अधिवेबन बोलाइसकेको छ । बाँकी ४ वटा प्रदेशले भने प्रदेश सभा बैठकको मिति सार्वजनिक गरेका छैनन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका कारण राजनीतिक संकटमा छन् । जसका कारण उनीहरुले प्रदेश सभा अधिवेसन तत्काल सञ्चालन गर्न नचाहेको जस्तो देखिन्छ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा प्रदेश सरकार छन् । यसअघि संघ सरकारमासमेत गठबन्धन गरेका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को सहकार्य टुटेसँगै ती दुई प्रदेशका सरकारहरु पनि संकटमा परेका थिए ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले बजेट अधिवेशनको मिति हालसम्म नतोकिएको बताए ।

त्यस्तै, कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले पनि बजेट अधिवेशनको मिति तय नभएको बताए ।

‘महामारीका कारण प्रदेश सभाको हिउँदे अधिवेसन वैशाख २९ गते अन्त्य भएको हो । त्यसपछि अर्को अधिवेशन डाकिएको छैन,’ बुढाथोकीले क्लिकमाण्डुसँग भने ।

बजेट अधिवेशन जेठको मसान्तमा मात्रै शुरु गर्ने गरी कर्णाली प्रदेश सरकारले तयारी गरिरहेको छ । जसकारण र्पूाबजेट छलफल प्रभावकारी रुपमा हुन पाउने छैन ।

प्रदेश नम्बर १ सरकारले पनि बजेट अधिवेशनका लागि मिति सिफारिस गरेको छैन । प्रदेश नम्बर १ प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले बजेट अधिवेसन शुरु गर्नका लागि प्रदेश प्रमुखबाट कुनै पत्र नआएको बताए ।

प्रदेश नम्बर २ ले जेठ २४ गतेबाट प्रदेश सभा अधिवेसन शुरु गर्ने तयारी गरेको छ । प्रदेश नम्बर २ को प्रदेश सभा सचिवालयका सचिव रंजित कुमार यादवले २४ गतेबाट अधिवेशन बोलाइएकोबारे अनौपचारिक जानकारी आफूले पाएपनि प्रदेश प्रमुखको कार्यालयबाट पत्र भने आइनसकेको बताए ।

महामारीको कारण देखाउँदै प्रदेश नम्बर २ ले वैशाख १४ गते प्रदेश सभाको बैठक स्थगित गरेको थियो ।


क्लिकमान्डु