शिक्षा र पूर्वाधारमा सबैभन्दा धेरै बजेट, कुन मन्त्रालयले कति पाए ?



काठमाडौं । गत शनिबार अध्यादेशमार्फत् जारी भएको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटले सबैभन्दा धरै रकम शिक्षा क्षेत्रका लागि छुट्याएको छ ।

मन्त्रालयगतरुपमा हेर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा धेरै कुल वार्षिक विनियोजित बजेटको १०.९३ प्रतिशत बजेट पाएको छ । मन्त्रालयले १ खर्ब ८० अर्ब ४ करोड ११ लाख रुपैयाँ बराबरको बजेट पाएको हो ।

त्यस्तै, सरकारले बजेटको पहिलो प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्रका लागि कुल वार्षिक विनियोजनको ७.४५ प्रतिशत बजेट छुट्याएको छ । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रण र खोप कार्यक्रमसमेत गरी यो मन्त्रालयले १ खर्ब २२ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विकासे मन्त्रालयहरुको बजेट पनि बढाएको छ ।

आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल बजेटको १०.१५ प्रतिशत अर्थात १ खर्ब ६७ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

गृह मन्त्रालयले १०.१३ प्रतिशत अर्थात् १ खर्ब ६६ अर्ब ९० करोड ३५ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

त्यस्तै, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १ खर्ब २१ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । यो वार्षिक विनियोजित बजेटको ७.४० प्रतिशत बराबर हो ।

यसरी हेर्दा आगामी आर्थिक वर्षका लागि ५ वटा मन्त्रालयले खर्ब माथिको बजेट पाएका छन् ।

सबैभन्दा थोरै बजेट भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले पाएको छ । यो मन्त्रालयले कुल वार्षिक बजेटको ०.०३ प्रतिशत अर्थात ५१ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।ब


क्लिकमान्डु