नेपाली कांग्रेसद्वारा बजेटको आलोचना, भन्यो- बजेटमार्फत् सरकारले भ्रम छर्ने काम गर्यो



काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको २०७८/७९ को बजेटप्रति कडा आलोचना गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको बजेटमा उल्लेख भए बमोजिम साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताए ।

उनले जनता एउटा धरातलमा उभिएको र प्रधानमन्त्री अर्को धरातलमा उभिएको टिप्पणी गरे ।

जनताहरु कोरोनाबाट कसरी मुक्त हुने भन्नेमा केन्द्रित रहेका बेलामा प्रधानमन्त्री भने नेपालमा भएको विकाले विश्व चकित भएको भन्दै भ्रम छर्न व्यस्त रहेको बताए ।

‘अनेकौ छलछाम र प्रपञ्च गरी प्रतिनिधिसभा बिघटन गरी वैधानिकता गुमाइसकेको छ । विघटनको वैधानिकता सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत बजेट ल्याएको छ,’ कांग्रेसले भनेको छ ।

प्रधानमन्त्रीले ४ महिना अघि ३ महिनाभित्रमा सबै नेपालीलाई खोप लगाउने बताएको तर हालसम्म पनि त्यसमा कुनै प्रगति नभएको भन्दै रिजालले सरकारको आलोचना समेत गरे । राम्रो कुटनीति बिना नै पत्र पठाएकै भरमा खोप आउँछ भन्ने कमजोर प्रयास भएको उनले बताए ।

रिजालले प्रधानमन्त्रीले कोरोना महामारीका विषयमा दिएको हल्का टिप्पणी नै आजको अवस्था आइपुग्नुमा कारक रहेको आरोप लगाए ।

बजेटमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएर भ्रम छर्न लागेको बताए ।

उनले भर्खरै निर्वाचनबाट विजयी भएर आएको जस्तो गरी कामचलाउन सरकारले बजेट ल्याएको बताए । उनले बहिगर्मनको अवस्थामा पनि भ्रम छर्न प्रधानमन्त्री व्यस्त रहेको समेत बताए ।

सरकार गठन भएपछि नै कुनै पनि आर्थिक वर्षसम्म २ खर्ब ५० अर्ब पुँजीगत खर्च गर्न नसकेको सरकारले आगामी वर्षमा ३७५ अर्ब खर्च गर्ने योजना बनाएको आरोप लगाए । उनले भौतिक पूर्वाधारमा भनिए जस्तो लक्ष्य प्राप्ति नभएका टिप्पणी गरे ।

उनले सरकारले कुनै पनि आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्न नसकेको बरु स्वदेशी र विदेशी ऋण थोपरिरहेको बताए ।

उनले लगानीको वातावरण बनाउनुका साटो भ्रम छरिरहेको बताए । उनले कोरोनाका कारण थप १२ लाख गरिबीको रेखामुनी जान बाध्य भएको बताए । उनले कोरोना खोप सहज उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको बताए ।

उनले राहतका कार्यक्रम हचुवाको भरमा ल्याइएको भन्दै यसले अर्थतन्त्रमा ठूलो असर पार्ने बताए । सामाजिक सुरक्षा भत्तामा हुने खर्च बढाएर पुँजिगत बजेट जुटाउन नसकिने उनको भनाइ छ ।


क्लिकमान्डु