मदन भण्डारीका नाममा विश्वविद्यालय, रंगशाला, राजमार्ग र जलमार्गका लागि बजेट बिनियोजन



काठमाडौं । तत्कालीन एमालेका महासचिव मदन भण्डारीका नाममा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा विभिन्न ५ वटा कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको छ ।

सरकारले मदन भण्डारीका नाममा विश्वविद्यालय, रंगशाला, जलमार्गलगायतका पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको हो । शनिबार सार्वजनिक गरिएको आगामी आवको बजेटमा मदन भण्डारीका नाममा प्रौद्योगिक विश्वविद्यालय आगामी २ वर्षभित्र सञ्चालनमा ल्याइने उल्लेख छ । आगामी वर्ष विश्वविद्यालयको पूर्वाधार निर्माण प्रारम्भ गर्न बजेट बिनियोजन गरिएको छ ।

त्यसका साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने उल्लेख छ । मकवानपुरको चित्लाङमा इन्जिनियरिङ संकायको पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ । काभ्रेको पाँचखालको पूर्वाधार निर्माणको बिस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण शुरु गरिनेछ । यसका लागि १ अर्ब ५५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

त्यसका साथै झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला २ वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिनेछ ।

मदन भण्डारी राजमार्गको चतरा-हेटौँडा खण्डको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ । शान्तिनगर-धरान र भेडावारी-धुलियाविट, सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न गरिने छ भने बाँकी खण्डको रेखांकन र बिस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अघि बढाइने छ । यसका लागि ३ अर्ब २० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले देशका ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिने उल्लेख गरेका छन् । जसमा नारायणी नदीको त्रिवेणी-नारायणगढ-देवघाट-दासढुंगा खण्डलाई मदन-आश्रित जलमार्ग नामाकरण गरिने उल्लेख छ ।

त्यसका साथै आगामी आर्थिक वर्षदेखि कोशी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम बिनियोजन गरिएका छ । कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाउने पनि उल्लेख गरिएको छ ।


क्लिकमान्डु