बजेटमा निजी क्षेत्रको साथ पाएका अर्थमन्त्रीले भनेः चुनाव जितेर बजेट कार्यान्वयन हुन्छ



काठमाडौं । बजेटमा निजी क्षेत्रको साथ पाएपछि अर्थमन्त्री बिष्णु पौडेल उत्साहित भएका छन् ।

निजी क्षेत्रका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्श लगायतका संस्थाहरुले बजेटमा आफ्ना सुझावहरु कार्यान्वयन भएको बताएका थिए ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्ना सुझावहरु ६० प्रतिशत सम्बोधन भएकोमा अर्थमन्त्रीले ल्याएको बजेटलाई स्वागत गरे ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले गरेको बजेटपछि छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले बजेट कार्यान्वयनमा आंशका व्यक्त गरेका थिए ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट कार्यान्वयनमा आंशका नगर्न आग्रह गरे । ‘६ महिनासम्म यही सरकार रहन्छ,हामी निर्वाचन जितेर आउने छौ, बजेट कार्यान्वयन गर्ने छौ,’मन्त्री पौडेलले भने ।

उनले पूर्ण आकारको बजेट ल्याउन नपाइने भनेर राजनीतिक दलले विरोध गरेमा उनीहरु कोभिड विरुद्धको खोपको विरोधमा रहेको बताए ।

‘बजेट ल्याउन नपाउने भनेर विरोध गर्नेहरु संविधानको विरोधमा छन्, बजेट नल्याउने हो भने हामीले माहामारीमा काम गर्न सक्ने अवस्था थिएन,’पौडेलले थपे ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले बजेटमा आफ्नो सम्बोधन भएमा स्वागत गरेका थिए । महासंघ अध्यक्ष गोल्छाले आफ्ना सुझावहरु समेटिएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोरले काठमाडौं उपत्यकाबाट उद्योगहरुलाई बाहिर सार्ने विषय स्वेछिक बनाउनुपर्ने बताए । यस्तै उद्योगहरुले इन्धन खरिद गर्दा भ्याट फिर्ता पाउने विषय निरन्तरता दिएकोमा स्वागत गरे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा कारोबारलाई करको दायरामा ल्याउनुपर्ने बताए ।


क्लिकमान्डु