साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर कसरी सम्भव छ ? अर्थसचिव भन्छन्- ‘बुझेरै त्यो लक्ष्य राखेका हौं’

112
Shares

Shishir Dhungana

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि सरकारले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर तथ्यपरक र स्वभाविक रहेको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव ढुंगानाले सरकारले अबलम्बन गरेका नीतिले आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याउने बताए ।

‘चालु आर्थिक वर्षमा कात्तिक महिना पछिमात्र हाम्रा आर्थिक गतिविधि शुरु हुँदा पनि हामीले ४ प्रतिशतको आर्थिक वृृद्धिदर हासिल गरेको छौं । यसैका आधारमा पनि हामी आगामी आर्थिक वर्षमा अझ राम्रो गर्ने अनुमान गर्न सक्छौं,’ ढुंगानाले भने । ‘बजेटले राहत पुनरुत्थानका कार्यक्रम राखेको छ । जसले उत्पादन बढ्छ र थप रोजगारी सिर्जना हुन्छ । खोप कार्यक्रम शुरु भएपछि हाम्रो अर्थतन्त्रको माग बढ्दै जान्छ ।’

त्यस्तै, सरकारले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेकाले महामारीका कारण धराशायी भएको अर्थतन्त्र चाँडै पुरानो लयमा फर्किने पनि उनले बताए ।

‘खोप पहिलो प्राथमिकतामा राखेका छौं । खोप आउनेबित्तिकै हाम्रा आर्थिक गतिविधिहरु सामान्य अवस्थामा फर्किन्छन, उनले भने । ‘यसकारण हामीले जानी–बुझिकनै ६.५ को आर्थिक वृद्धिदर राखेका हौं । राष्ट्र बैंकको अध्ययनले पनि त्यहि भन्छ ।’

Skip This