बजेटपछिको सेयर बजारमा उत्साह, कारोबार रकम १७ अर्ब
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको भोलिपल्ट सेयर लगानीकर्ताहरु उत्साही भएका छन् । जसको सकारात्मक प्रभाव आइतबारको कारोबारमा देखिएको छ ।
नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ अंकमा पुगेको छ । साथै कारोबार संख्या र रकममा पनि नयाँ रेकर्ड कायम भएको छ ।
यो दिनको कारोबारमा ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ ९१ पैसामा कारोबार भएको छ । कारोबार रकम र संख्या हालसम्मकै उच्च हो ।
यसअघि गत बिहीबार ४ करोड १८ लाख १३ हजार १४४ कित्ता सेयर १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँ २४ पैसामा किनबेच भएको थियो ।
यो दिन १२६ कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा डेभलपमेन्ट बैंकको उपसमूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । उक्त उपसमूहमा ७.३९ प्रतिशतले बढेको भने फाइनान्सतर्फ ५.०८ प्रतिशत र होटल तथा पर्यटनतर्फ ४ प्रतिशतले वृद्धि भएको छ ।
यो दिनको कारोबारमा ज्योति विकास बैंकको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने घलेम्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा बरुण हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिभिल लघुवित्त, ग्रीन हाइड्रोपावर कम्पनी छन् ।