बजेटमा अटाएका नयाँ कार्यक्रम लागु नगर्न विपक्षीको चेतावनी



काठमाडौं । शनीबार अध्यादेशमार्फत जारी भएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट संविधान विपरित रहेकाले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि कार्यक्रम लागु नगर्न विपक्षी गठबन्धनल ेसरकारलाई चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेले आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन ।

प्रतिनिधि सभाको पुनःस्थापनाका लागि अदालतमा मुद्दा चलिरहेको र प्रतिनिधि सभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीमा दावी गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर गर्ने किसिमका कुनै पनि काम कारबाही नगर्न उनीहरुले चेतावनी दिएका हुन ।

‘प्रधानमन्त्रीद्वारा भइरहेको संविधानको उल्लंघन संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुनः प्रकट भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ । ‘सरकारको संरक्षणमा भष्ट्राचार र कमिसनखोरी बढ्दो छ । राज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदैछ ।’

देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री ओलीले एक पछि अर्को गर्दै संविधानको अवहेलना र उल्लंघन गरेको विपक्षी गठबन्धनको ठहर छ ।


क्लिकमान्डु