प्रधानमन्त्री ओलीको जिल्लामा बजेटको ओइरो



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा मात्र आधा दर्जन बढी नयाँ कार्यक्रम समावेश गरेको छ ।

झापा जिल्लामा पनि दमक र चन्द्रगढी क्षेत्रलाई बजेटले बढी महत्व दिएको छ । जुन प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र हो ।

स्थानीय तहले नै बनाउन सक्ने स–साना आयोजनामासमेत संघ सरकारबाट बजेट छुट्याइएको छ । ती क्षेत्रमा थपिएका नयाँ योजनाहरु धेरैजसो व्यवसायिक भवन निर्माण र पार्क निर्माणसँग सम्बन्धित छन् ।

प्रधानमन्त्री ओलीको क्षेत्रमा ‘चिल्ड्रेन प्याराडाइज’ निर्माण कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि बजेट छुट्याइएको छ । बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्य राखेर चिल्ड्रेन प्याराडाइज निर्माण गर्न लागिएको बजेटमा उल्लेख छ ।

त्यस्तै, झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला बनाउने र त्यसलाई २ वर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी संघ सरकारबाटै बजेट विनियोजन गरिएको छ । दमकै बहुतले बसपार्कसहितको सिटी पार्क निर्माणका लागि पनि सरकारले पैसा छुट्याएको छ ।

नेपालमा अर्को प्रशासनिक प्रशिक्षण प्रतिस्ठान पूर्वाधार विकास गर्ने र त्यो झापा जिल्लामा बनाउने गरी सरकारले बजेट छुट्याएको छ । सार्वजनिक पदाधिकारीलाई आवधिक रुपमा प्रशिक्षण प्रदान गरी निरन्तर सिकाइ कार्यक्रम प्रवद्र्धन गर्न झापाको चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिस्ठान स्थापना गरिने बजेट उल्लेख छ ।

संघ सरकारले दमकमा ढल प्रशोधन केन्द्र स्थापनाका लागि पनि बजेट छुट्याइएको छ ।

झापाका चन्द्रडाँगीमा कृषि फार्मलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गरी सञ्चालन गर्ने बजेटमा उल्लेख छ भने झापाको भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यस्थापन गरिएको छ ।

झापाको दमकका यसअघिनै इन्डस्ट्रियल पार्क निर्माणका लागि सरकारले अघिल्ला आर्थिक वर्षदेखिनै बजेट छुट्याउँदै आएको छ । यो औद्यागिक क्षेत्रको गतवर्षमात्र शिलान्यास भएको थियो । आगामी आर्थिक वर्षका लागि त्यस्तै प्रकृतिको अर्को औद्योगिक क्षेत्र बनाउनका लागि सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।


क्लिकमान्डु