युवराज खतिवडाका अलोकप्रिय यी नीति बिष्णु पौडेलले उल्ट्याए



काठमाडौं । युवराज खतिवडाले ल्याएका अलोकप्रिय नीति अर्थमन्त्री बिष्णु पौडेलले उल्टयाएका छन् ।

युवराज खतिवडाले गतवर्ष बजेटमार्फत विद्युतीय गाडीको अन्तःशुल्क र भन्सार बढाएका थिए । अर्थमन्त्री बिष्णु पौडेलले यो पटक बजेटमार्फत विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क हटाएका छन् भने भन्सार महशुल समेत घटाएका छन् ।

अर्थमन्त्रीबाट खतिवडा हटेपछि नै अर्थमन्त्रालय नेतृत्व समालेका पौडेलले अन्तःशुल्क दरमा कटौती गरेका थिए ।

पौडेलले खतिवडाको व्यवसायीले सबैभन्दा बढी आलोचना गरेको इन्धनमा भ्याट फिर्ता पाउने नीति हटाएकोमा गरेका थिए । खतिवडाले भ्याटको सिद्धान्त विपरित इन्धन खरिद गर्दा उद्योगले पाउने भ्याट फिर्तालाई हटाएका थिए ।

निजी क्षेत्रका सबै संस्थाले भ्याट फिर्ताको नीतिलाई निरन्तरता दिन माग गरेका थिए । अर्थमन्त्री पौडेलले बजेटमार्फत् उद्योगले इन्धन खरिद गर्दा पाउने भ्याट फिर्ताको नीतिलाई पुनः कार्यान्वयनमा ल्याएका छन् ।

यसबाहेक खतिवडाले गतवर्षको बजेटमा दुधको भन्सार बढाएका थिए । यो पटक अर्थमन्त्री पौडेलले दुध आयातमा लाग्ने भन्सारमा ५० प्रतिशत छुट दिएका छन् ।

खतिवडाले बजेट ल्याएको बेला ढुवानी सेवाको भाडा, कार्गो सेवा, विद्युतीय लाइब्रेरी, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेज र उत्पत्तीको प्रमाणपत्र पेश गर्दा लाग्ने शुल्कमा मुल्य अभिवृद्धि कर लाग्ने व्यवस्था खतिवडाले गरेका थिए । त्यो नीतिलाई पौडेलले हटाएका छन् ।

यस्तै सरकारी विद्यालयको व्यवस्थापन निजी क्षेत्रलाई दिने नीति खतिवडाले ल्याएका थिए । सो नीति पनि पौडेलले हटाएका छन् ।

अर्थमन्त्री भएपछि पौडेलले किताब आयात गर्दा लाग्ने भन्सार शुल्क हटाएका थिए । अर्थमन्त्री पौडेलले स्वदेशी मुद्रण उद्योगलाई बचाउदै विदेशमा छापिने डाक्टर इन्जिनियर लगायतका किताबको आयातमा लाग्ने भन्सार हटाएका थिए ।

सरकार स्थिर भएपनि केपी ओली सरकारको नीतिहरु भने स्थिर नभएको यसले प्रष्ट संकेत गर्छ ।


पुष्प दुलाल